Shittalpati
पाल्पामा टिपर आतंकप्रति उद्योग वाणिज्य संघले देखायो चासो

रामचन्द्र रायमाझी
पाल्पा । जिल्लामा कायमै रहेको वर्षौदेखिको टिपर आतंकप्रति पाल्पा उद्योग वाणिज्य संघले चासो देखाएको छ । जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठनका रुपमा रहेको संघले वर्षौदेखिको टिपर आतंक रोक्ने विषयमा चासो देखाएको हो । जिल्लाका सडकहरुमा दिनहुँ सयौंको संख्यामा टिपरहरु अन्धधुन्ध हुइकिने गर्दा दुर्घटना मात्र नभई मानवस्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेको भन्दै संघले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । पटक–पटकको खबरदारी पछि पनि सडकमा टिपर आतंक नरोकिए पछि जिल्लाका उद्योगी व्यापारीहरुबाट संघमा व्यापक गुनासो आएपछि पाउवा संघले चासो देखाएको हो । हुन त विगतमा पनि संघले चासो नदेखाएको भने होइन, तर निरन्तर सम्बन्धित निकायलाई खवरदारी नगर्दा टिपर आतंक नरोकिएको हो । जिल्लामा बेला बेलामा यस विषयमा आवाज उठ्ने गरे पनि सम्बन्धित निकायले चासो नदिदा समस्या झन बढ्दै गएको छ ।

पाल्पा उद्योग वाणिज्य संघले टिपर आतंकका कारण दुर्घटनासँगै मानव स्वास्थ्यमा असर पुर्‍याएको भन्दै सोमबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष राजु महर्जनको नेतृत्वमा गएको व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई ज्ञापन पत्र बुझाउदै टिपर आंतक नियन्त्रण गर्न आग्रह गरेको छ । जिल्लाका विभिन्न चुनढुङ्गाखानीहरुबाट ढुंगा बोकेर हिड्ने टिपरको आतंकका कारण यस क्षेत्रका जनताको स्वास्थ्यमा असर पुगेको भन्दै ज्ञापन पत्र बुझाइएको संघका अध्यक्ष राजु महर्जनले बताए । जिल्लामा साँघुरा र जीर्ण सडकका कारण तीब्र गतिमा हुइँकिने टिपरबाट निस्कने धुवा, धुलोका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नुको साथै पैदल यात्री, मोटरसाईकल चालक समेत प्रत्यक्ष रुपमा मारमा परेको अध्यक्ष महर्जनद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ । मानिसको स्वस्थपूर्वक बाँच्न पाउने अधिकारको हनन् हुन नदिन खानी सञ्चालकहरुले समेत गम्भिरतापूर्व ध्यान दिनुपर्ने संघका अध्यक्ष महर्जनले बताए । संघले टिपरबाट हुने असरलाई रोक्नको लागि रिब्दीकोट गाउँपालिका, तानसेन नगरपालिका र तिनाउ गाउँपालिका क्षेत्रका खानीले दैनिक पानी छर्किनुपर्ने, टिपरबाट भएको अनावश्यक ध्वनी प्रदुषण (प्रेसर हर्न) नियन्त्रण गर्नुपर्ने, टिपरको गति सिमित गर्नुपर्ने, टिपरलाई वाइपास बाटोबाट हिडाउनुपर्ने, निर्माणाधिन बाटोहरु समयमै सम्पन्न गर्नुपर्ने लगायतका ५ बुँदे माग सहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले संघले राखेका माग अत्यन्त महत्वपूर्ण भएकाले सम्बन्धित पक्षसँग त्यसबारेमा छलफल गरेर समस्या समाधानमा आफु लाग्ने बताएका छन् । पश्चिम पाल्पाको रिडी आसपास र सिद्धेश्वर लगायतका स्थानबाट चुनढुङ्गा लिएर यहाँ दैनिक सयौ टिपर हँुइकिने गर्दछन् । टिपरकै कारण तानसेनको टक्सार घुम्तीदेखि नै बसपार्कसम्म पैदल यात्रुलाई ज्यान जोगाउन समेत मुस्किल हुँदै आएको छ । बजारमा अन्धधुन्ध टिपर हँुइकिरहेका हुन्छन् । टिपरका कारण एकातिर साघुरो सडकमा पैदलयात्रु र साना सवारीलाई समस्या भएको छ भने अर्को तिर यहाँ वर्षौपछि मर्मत भएका सडक समेत जीर्ण बन्दै गएका छन् । यस विषयमा धेरै पटक जिल्लामा व्यापक बहस भए पनि कार्यान्वयन गर्ने निकाय नै मौन हुँदा समस्या ज्यूकात्यू नै छ । तानसेनमा बाइपासको बाटो विकल्पको रुपमा हुँदा हुँदै बजार क्षेत्रमै आतंक नै मच्चिने गरी टिपर हुइँकिदा समेत स्थानीय प्रशासन मौन बनेको जिल्लावासीको गुनासो छ ।

टिपरका कारण दुर्घटना बढ्दै गएपछि गत माघ ६ गतेदेखि लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले पाल्पादेखि नवरलपरासीसम्म चल्ने टिपरलाई टाइम कार्ड लागु गरेको छ । तर केही हदसम्म यो प्रभावकारी देखिए पनि पूर्णरुपमा भने सफल हुन सकेको छैन । टिपर चालकले ट्राफिक नियम पालना नगर्ने, लेन अनुशासन नमान्ने तथा बढी ट्रिपका लागि होडबाजीमा मानिसको ज्यानको ख्याल नगरी सवारी हाँक्ने गरेका छन् । जसका कारण सडकमा सञ्चालित सवारी साधन सँगै यात्रुहरु मृत्युको शिकार बन्नु परेको छ । यसअघि तानसेनमा टिपर आंतक ब्यापक भएपछि बैकल्पिक बाटोबाट टिपर चलाउने निर्णय भए पनि त्यो कार्यान्वयनमा भने आउन सकेको छैन । ढुवानी गर्ने टिपरको संख्या पछिल्ला तीन वर्षमा ह्वात्तै बढेको छ । कम्पनी र उद्योगले टिपर चालकलाई प्रतिट्रिपको हिसाबमा भत्ता उपलब्ध गराउने गर्छन् । त्यसको असर गतिमा परेको छ । जति धेरै ट्रिप बोक्यो, उति धेरै भत्ता पाइने भएपछि चालकले लापरवाही रुपमा टिपर सडकमा कुदाउँछन् । जसका कारण दुर्घटना हुनुको साथै मानवीय स्वास्थ्यमा ठूलो असर पर्ने गरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update