तुलनात्मकरूपमा महँगा निजी कलेजदेखि सस्तो मानिने सरकारी क्याम्पस र विश्वविद्यायमा समेत विद्यार्थी भर्ना दर घटेको छ । त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी कम भएका र कुनै–कुनै संकायमा विद्यार्थी शून्य नै भएको कारण विभिन्न संकायहरू आपसमा गाभ्नुपरेको स्थिति छ भने अन्य निजी विश्वविद्यालयहरूको हालत पनि करिब–करिब उस्तै नै छ ।
शिक्षा र रोजगारीका लागि ठूलो संख्यामा नेपाली विद्यार्थी विदेश गइरहँदा कलेजहरुमा विद्यार्थी संख्या न्यून हुन पुगेको छ । तर किन गइरहेका छन् ? भन्ने कुरामा थोरैले मात्रै चासो लिने गरेका छन् । स्वदेशमै शिक्षाको पर्याप्त अवसर हुँदाहुँदै किन विद्यार्थीहरू प्लस टु सकिनासाथ विदेश जान लालायित भइरहेका छन् ? रोजगारीका लागि किन दिनको हजारभन्दा बढी संख्यामा नेपाली कामदार विदेश गइरहेका छन् ? यस्तो विषम परिस्थिति कसरी सिर्जना भयो ? यी गम्भीर विषयमा चियागफ र सभागोष्ठीहरूमा चर्चा र चिन्ता जाहेर हुने गरे पनि सरोकारवाला निकायहरूले भने चासो र चिन्ता लिएको देखिदैन । यो अत्यन्त चिन्ताको विषय हो ्नेपालमा लाखौँ खर्च गरेर पढाइ गरे पनि रोजगारीको अवसर नहुँदा विद्यार्थी विदेसिनु परेको अवस्थाप्रति सरकार गम्भीर बन्नै पर्छ । अष्ट्रलिया, युरोप र अमेरिका पुग्ने विद्यार्थीहरुले अध्ययन मात्र होईन भविष्य समेत उतै खोज्दा देशका होनहार युवाहरु पलायन भएका छन् । विदेशमा शिक्षा प्राप्त पछि स्वदेश फर्किने र देशको विकासका लागि काम गर्ने नेपालीको सख्या नगन्य मात्रा छ । यसैले विद्यार्थीको नाममा विदेसिने नेपालीलाई रोक्न आवश्यक छ । समग्रमा राष्ट्रिय योजनाको खाका राम्रो नभएकाले विद्यार्थी देश छाडिरहेछन् । शिक्षा नीति मात्र होइन,देशको समग्र नीतिमा पुनःसंरचना नगरी विद्यार्थी देशमा रोकिनेवाला छैनन् । राज्यले युवा जनशक्ति टिकाउन समग्र प्रणालीमा परिवर्तन गर्न ढिलो भइसकेको छ । तसर्थ अब छिटो भन्दा छिटो शिक्षा प्रणालीमा सुधार गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी विदेश जानबाट विद्यार्थी रोक्न जरुरी छ ।

