Shittalpati
विपन्न परिवारको निःशुल्क स्वास्थ बिमा

सीमा भट्टराई
पाल्पा । माथागढी गाउँपालिका ७ रहवासका विपन्न परिवारका लागि गाउँपालिकाले निःशुल्क बिमा गरिदिएको छ । गाउँपालिकाले आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेका रहबासका ८२ विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएको हो । गाउँपालिकाले सामाजिक स्वास्थ्य बिमाबाट बञ्चित रहेका विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । यस अघि गाउँपालिका भित्र रहेका आठ वटै वडाका ८ सय विपन्न परिवारलाई गाउँपालिकाले निःशुल्क बिमा गरिदिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । ‘आथिक अभावमा अस्पतालसम्म पुगेर स्वास्थ्य उपचार गर्न नसक्दा उपचार अभावमा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था गाउँमा रहेको छ, गाउँपालिका भित्रका कुनै पनि नागरिक उपचार अभावमा ज्यान गुमाउन नपरोस् भनेर विपन्न परिवारको बिमा गरिदिएका छौंँ’, उनले भने ।

गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर विपन्न परिवारको घर–घरमा बिमाकर्ता परिचालन गरेर बिमा गराएपछि यहाँका नागरिक खुशी भएका छन् । अहिले बीमा गरेपछि स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण गराउनेको संख्या समेत बढ्न थालेको छ । गाउँपालिकाका विपन्न घरपरिवारलाई पनि स्वास्थ्य सेवाको पहुँचमा ल्याउन यो कार्यक्रम अघि सारेको अध्यक्ष थापाको भनाई छ । सरकारले गरिब र आर्थिक अवस्था कमजोर भएकाहरुलाई स्वाथ्य सेवाको पहुँचमा पु¥याउन स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुन लाग्ने शुल्क तिर्न नसक्नेहरुका लागि यो कार्यक्रम निकै प्रभावकरी भएको छ । स्वास्थ्य बिमा गरिब र आर्थिक अवस्था कमजोर भएकाहरुलाई केन्द्रित गरिएपनि सुरुमा बुझाउनुपर्ने ३५ सय रुपैयाँ पनि तिर्न नसक्नेलाई समस्या रहेको थियो । सामान्य रोग लागि हाल्यो भने पनि ऋण खोजेर सदरमुकाम धाउनु पर्ने समस्याले सताउने गरेको यहाँका स्थानीयलाई अहिले सहज भएको छ । गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएपछि सामान्य गाडी भाडाको जोहो गरेर मात्र पनि उपचारका लागि सदरमुकाम जान सकिने स्थानीय खेमबहादुर विकले बताए ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update