Shittalpati
अग्लुङ्गका कृषकलाई कृषि औजार वितरण

रमेश विश्वकर्मा

गुल्मी । जिल्लाको मदाने गाउँपालिका १ अग्लुङ्गका कृषकहरुलाई कृषि औजार वितरण गरिएको छ । गाउँपालिकाको अनुदानमा २८ लाख बराबरका कृषि औजार कृषकलाई वितरण गरिएको हो । कृषकहरुलाई मिनि टिलर, थ्रेसर, कुटानी पिसानी मिल तथा प्लास्टिक टनेल लगायतका कृषि सामग्री वितरण गरिएको छ । वडा १ को टोल ९ मा रहेको देउराली आलु कृषक समुहद्वारा समुहका सदस्य कृषकसँगै अन्य कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरिएको छ ।

कृषि सामग्री अन्तर्गत मिनि टिलर (मिनि हलो(हाते ट्याक्टर), थ्रेसर (कोदो चुट्ने मेसिन), कुटानी मिल, कुटानी पिसानी मिल, प्लाष्टिक टनेल, त्रिपाल लगायतका सामग्री वितरण गरिएको गाउँपालिकाका कृषि समुहका अध्यक्ष राजेन्द्र बिष्टले बताए । कृषकलाई उक्त सामग्री उपलब्ध गराउन १४ लाख रकम कृषकबाट उठाइएको र बाँकी रकम अनुदान रहेको बताईएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७६/७७ को बजेटबाट पालिकासँगको सहकार्यमा कृषकहरुलाई प्रोत्साहनको लागि अन्य कृषि समुहलाई जस्तै यस समुहलाई पनि अनुदानबाट कृषि औजार वितरण गरिएको कृषि शाखा प्रमुख हुम बहादुर थापाले बताए । कृषि ज्ञानकेन्द्र गुल्मीको ५० प्रतिशत अनुदानमा आएका ३१ पिस कुटानिपिसानी मिल, ५ पिस मिनि टिलर, ३ पिस मिनि थ्रेसर लगायतका कृषि सामग्री वितरण गरिएको बताइएको छ । कृषकहरुलाई कृषि क्षेत्रमा सहजता होस र कृषि उत्पादनको क्षेत्रमा अब्बल बनाउदै लैजान र कृषि क्षेत्रमा प्रोत्साहित गर्न उक्त सामग्री उपलब्ध गराईएको बताईएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update