Shittalpati
जनतालाई फेरि नझुुक्याऊ

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि पाल्पाका राजनीतिक दलहरु उम्मेदवारसहित चुनावी प्रचार–प्रसार गर्दै भोट माग्न गाउँ पसेका छन् । अन्य समयमा शहर केन्द्रित हुने दलका नेता कार्यकर्ता हिजोआज निर्वाचन प्रचार–प्रसारका लागि गाउँ केन्द्रीत बनेका छन् । निर्वाचन जितेपछि जनताको घरदैलोमा जान चटक्कै बिर्सने नेताहरु अहिले भने जनताको साख्खै बन्न पुुगेका छन् । जनतासँगै खेतमा रमाउने, खेल्ने, नाच्ने जस्ता काम गरिरहेका छन् । यस्तो कार्य सधंैजसो भइदिए कति जाती हुन्थ्यो होला । नेता र जनताको सम्बन्ध चुनावका बेलामा मात्रै होइन सदाबहार रूपमा हुनुपर्छ । मतदाताहरुको भेटमा उनीहरूले पूर्वाधार विकासदेखि गरिबी हटाउने र युवालाई रोजगारी दिनेसम्म प्रतिवद्धता जनाइरहेका छन् । विकास र रोजगारी दिने आश्वासन जनताले पहिले पनि नपाएका होइनन् । तर त्यसअनुसार काम हुन सकेन । अब जनताले विगतमा जस्तो झुुट्टा आश्वासन पत्याउने वाला छैनन् । किन कि पटक–पटकका निर्वाचनबाट विजयी भएर गएका नेताहरुबाट गरिएका वाचाहरु पुुरा नभएपछि जनताहरु असन्तुुष्ट छन् ।

अहिले जनताहरु पनि धेरै नै सचेत भइसकेका छन् । यसकारण पनि गर्न नसक्ने कामहरुको प्रतिवद्धता दल र उम्मेदवारले गर्न उचित छैन । नेपाली जनताले दलहरूलाई कतिसम्म विश्वास गर्ने र कहिलेसम्म विश्वास गरिरहने ? २०४६ सालमा प्रजातन्त्रको पुनर्वहाली भएपछि २०४८ सालमा पहिलोपटक आमनिर्वाचन भएको थियो । त्यही बेलादेखि दलहरूले प्रेमीले प्रेमिकालाई आकाशका तारा झारिदिन्छु भने जस्तै नेपाली जनतालाई आश्वासन दिने कामको थालनी गरेका थिए । विशेषगरी आफुहरुलाई कम्युनिष्ट भनि त्यसको खोल ओढ्नेहरुले अनेक आश्वासन बाडेर मतदातालाई आकर्षित गर्दै आएका छन् । उनीहरुबाट घर नहुनेलाई घर र जग्गा नहुनेलाई जग्गा दिने आश्वासन पाएकाहरुले अहिलेसम्म पनि पाएनन् । बरु ति दलहरू नै बदलिए तर जनताको अवस्था जहाँको त्यहि रह्यो, केही परिवर्तन भएन । यस कारण पनि जनता अहिले सचेत भइसकेकका छन् । तसर्थ बोक्न सक्ने भारी बोकौं, गर्न सक्ने कुरा मात्र जनतालाई बाडौं, विगतमा जस्तो नझुक्याऊ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update