Shittalpati
औपचारिकतामै सीमित नबनोस् सहिद सप्ताह

मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि सोमबारदेखि सहिद सप्ताह मनाउन सुरु गरिएको छ । यही माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहका लागि विभिन्न कार्यक्रमहरु तय भएका छन् । संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै देशैभर सीमित व्यक्तिहरुको उपस्थितमा सहिद सप्ताह मनाइदै छ । सहिद सप्ताह हालका दिनमा केवल औपचारिकतामा मात्रै सीमित हुँदै गएको स्थिति विद्यमान रहे पनि सप्ताहभरि नै सहिदहरुको मात्रै विशेष चर्चा–परिचर्चा हुनुलाई भने एकप्रकारले अर्थपूर्ण नै मान्नुपर्ने हुन्छ । सच्चा सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरत चन्दको स्मरण गर्दै हरेक वर्ष सप्ताहव्यापी कार्यक्रमहरु गर्ने गरिएको छ । कवि भूपी शेरचन भन्छन्, ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए !’ तर, आजको अवस्था उनले भनेजस्तो छैन । न देशका लागि मर्नेहरू नै छन्, न सहिद भएकाहरूप्रति नै श्रद्धाभाव व्यक्त गर्ने अरु कोही छन् । आज सच्चा सहिदलाई नक्कली सहिदले विस्थापित मात्र होइन गिज्याइरहेको अवस्था छ ।

मुलुक र जनताको हकअधिकारका आन्दोलनमा सहादत प्राप्त गरेकामध्ये कसलाई सहिद भन्नेमा अझै स्पष्ट मापदण्ड बन्न सकेको छैन् । मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२/६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन ह्वात्तै बढेको छ । तर सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति सहिद भए भन्ने स्पष्ट तथ्याङ्क छैन् । यो विडम्बना हो । यद्यपि, केही वर्षअघि हजारौँको संख्यामा सहिदका नाममा लामो लिस्ट सार्वजनिक नभएको भने होइन । सेवा र हितका लागि सहजै जीवन त्याग गर्ने खास सहिदहरुको घोर अपमान भएको छ । यो दुखद् हो । सहिदको सच्चा सम्मान नहुँदा खास व्यक्ति र तिनका परिवारले अभिशप्त हुनु परिरहेको अहिलेको तीतो यथार्थ हो । सहिद परिवारका नाममा केहीलाई राहत दिइए पनि कतिपय अझै पनि उपेक्षित छन् । यी सबैको खोजीनिती हुन आवश्यक छ । मरेका मात्र नभएर अंगभंग भई बाँचेका तथा बेपत्ता पारिएकाहरूको पनि खोजीनिती हुन आवश्यक छ । यसर्थ सहिदका परिवारको उचित व्यवस्थापन र सहिदका अपुरा सपना पूरा गर्न सबै गणतान्त्रिक शक्तिहरू एकतावद्ध भई समृद्धिको यात्रामा हातेमालो गर्न सकेमा मात्र सहिद सप्ताह मनाउनुले सार्थकता पाउनेछ । अन्यथा औपचारिकतामा मात्र सिमित हुने छ ।

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update