पछिल्ला केही वर्षयता नेपालमा स्वास्थ्य समस्या जटिल बन्दै गएको छ । फैलिँदो नसर्ने रोगहरूका कारण मानव स्वास्थ्य नटिल बन्दै गएको छ । अस्वस्थ जीवनशैली, प्रदूषण, असन्तुलित खानपान, सरुवा तथा नसर्ने रोगको बढ्दो जोखिमका कारण स्वास्थ्य सुरक्षा चुनौतीपूर्ण बन्दै गएको हो ।
मुटु तथा रक्तनलीसम्बन्धी रोग, मधुमेह, क्यान्सर, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग, र दीर्घ मिर्गौला रोगजस्ता नसर्ने रोगका बिरामीहरूको संख्या निरन्तर बढ्दै गएको छ । यी रोगहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैनन्, तर लामो समयसम्म रहन्छन् र उपचार तथा व्यवस्थापन आवश्यक पर्छ । नसर्ने रोग बढ्नुका मुख्य कारणहरूमा अस्वास्थ्यकर खानपान, शारीरिक निष्क्रियता, धूम्रपान, मदिरा सेवन, मोटोपन, मानसिक तनाव तथा वातावरणीय प्रदूषण पर्छन् । यस्ता कारणहरूले व्यक्तिको स्वास्थ्यमा दीर्घकालीन असर पार्दै जीवनको गुणस्तर घटाउने र अकाल मृत्युको जोखिम बढाउने काम गर्छन् । यस्तो अवस्थामा प्रत्येक नागरिक स्वास्थ्य सुरक्षाप्रति सचेत हुनु अत्यन्त आवश्यक छ । स्वास्थ्य सुरक्षा केवल अस्पताल वा औषधिमा मात्र निर्भर हुँदैन । व्यक्तिगत सरसफाइ, पौष्टिक आहार, नियमित व्यायाम, पर्याप्त आराम, सुरक्षित खानेपानी, समयमै स्वास्थ्य परीक्षण तथा आवश्यक खोप लगाउने बानीले धेरै रोगबाट बच्न सकिन्छ । साथै, सार्वजनिक स्थानको सरसफाइ कायम राख्नु र वातावरण संरक्षण गर्नु पनि स्वास्थ्य सुरक्षाका महत्वपूर्ण पक्ष हुन् । सरकारले गुणस्तरीय स्वास्थ्य सेवा, जनचेतनामूलक कार्यक्रम तथा सबै नागरिकको पहुँचमा स्वास्थ्य सुविधा विस्तार गर्न विशेष ध्यान दिनुपर्छ । विद्यालय, सञ्चारमाध्यम, स्थानीय तह र सामाजिक संस्थाहरूले पनि स्वास्थ्य शिक्षा र जनचेतना अभिवृद्धिमा सक्रिय भूमिका खेल्न आवश्यक छ । तर सरकारको प्रयास मात्र पर्याप्त हुँदैन । प्रत्येक नागरिकले आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्दै स्वस्थ जीवनशैली अपनाउनुपर्छ । स्वास्थ्य सुरक्षालाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्छ । अन्ततः, स्वस्थ नागरिकबाट नै समृद्ध समाज र राष्ट्र निर्माण सम्भव हुन्छ । त्यसैले स्वास्थ्य सुरक्षालाई व्यक्तिगत मात्र होइन, सामाजिक दायित्वका रूपमा ग्रहण गर्दै सबैले सचेत, जिम्मेवार र अनुशासित जीवनशैली अपनाउनु आजको आवश्यकता हो । स्वास्थ्य सुरक्षामा सचेत बनौँ, स्वस्थ समाज निर्माणमा योगदान दिऔँ ।

