Shittalpati
प्रदूषणविरुद्ध लड्ने योजना बनाऊ

केही दिनदेखि काठमाडौँ लगायत देशभरका स्थानहरुमा वातावरणीय प्रदूषण देखिएको छ । प्रदूषणको असर देखिन थालेपछि सरकारले केही दिन अघि ४ दिनका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु समेत बन्द गर्न निर्देशन दिएको थियो । विज्ञ र स्वास्थ्य मन्त्रालयले समेत सकेसम्म घरबाहिर ननिस्कन, निस्के पनि मास्क अनिवार्य प्रयोग गर्न र सकेसम्म गाडी नचलाइदिन अपिल गर्दै आएका छन् । खासगरी बिहान र साँझको समयमा वायुमण्डल चिसिँदै जाँदा यस्तो प्रदूषण भुइँको नजिक आउने र श्वासप्रश्वासका माध्यमबाट मानिसको फोक्सोलाई असर पार्ने जोखिम हुन्छ । सरकारलाई प्रदूषण नियन्त्रणमा प्रभावकारी कदम चाल्नका लागि दवाब दिन जरुरी भइसकेको छ । अन्यथा हामी रोगको शिखार नबनौला भन्न सकिदैन । यसबाट अल्पकालमा घरबाहिर ननिस्केर या मास्क लगाएर थोरै बच्न सकिएला, तर सबैलाई सधैँ घरबाहिर ननिस्कन असम्भव हुन्छ । प्रदूषणले स्वास्थ्यमा पार्ने असरले निमोनिया, दम, खोकीलगायत अनेक रोग फैलन मद्दत गर्छ । वायु प्रदूषणको मात्रा यसरी अनियन्त्रितरुपमा वृद्धि हुँदै जानु अहिले निकै चिन्ताको विषयसमेत बनिरहेको छ ।

वायु प्रदूषणको स्तरलाई कम गराउन विभिन्न कार्यक्रमहरुको घोषणा त गरिएको छ, तर त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समस्यामाथि झन् समस्या थपिँदै गएको देखिन्छ । यतिखेर देशभर अत्यधिकरुपमा वायु प्रदूषण वृद्धि हुँदै गएको अवस्थामा समेत सरकार मूकदर्शक भएर बस्नु ज्यादै दुर्भाग्यपूर्ण छ । सरकारले वायु प्रदूषणलाई ध्यानमा राखेर घरबाहिर नबस्न र प्रदूषण बढाउने धूवाँ र धूलो बढ्ने काम नगर्नसमेत आग्रह गर्दैै आएको छ । यो आफैमा सकरात्मक हो । तर सावधानीमात्रै अपनाएर तत्कालका लागि प्रदूषण कम गर्न त सकिएला तर दिर्घकालीन रुपमा भने यसले नकरात्मक असर गर्न सक्छ । यसर्थ अब सरकारले यसको दिर्घकालीन योजना बनाएर अगाडि बढ्न जरुरी छ ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update