Shittalpati
आजदेखि महिला हिंसा अन्त्यका लागि दिवस सुरु

हरेक वर्षको २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध ऐक्यवद्धता जनाउन र जनचेतना कायम राख्न महिला हिंसा अन्त्यका लागि दिवस मनाउने गरिन्छ । यो वर्ष नोभेम्बर २५ आजदेखि डिसेम्बर १० अर्थात् मंसिर १० गतेदेखि २५ गते सम्म यो दिवस मनाइने भएको छ । नेपालमा महिला हिंसाको अवस्था चुनौतिपूर्ण बन्दै गएको छ । महिला वा पुरुष भएकै कारण लिङ्गका आधारमा हुने हिंसा नेपाली समाजमा परापूर्वकालदेखि नै जटिल समस्याको रूपमा देखिदै आएको पाइन्छ । लैङ्गिक हिंसा एउटा सामाजिक अपराध हो । लिङ्गको आधारमा महिलाहरू माथि घरभित्र र घरबाहिर हुने विभिन्न प्रकारका हत्या, यौन शोषण, मानसिक यातना, कुटपिट, बहुविवाह, गाली गलौज, अपमानजस्ता हिंसाहरूलाई महिला हिंसाको रूपमा लिन सकिन्छ । हिंसा अन्त्यका लागि विश्वभर नै विभिन्न संघ–संस्थाहरुले महिला हिंसाविरुद्धको अभियान मनाउने गर्दछन् । यी दिनहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैर सरकारी निकायहरूले लैैङ्गिक हिंसा विरुद्धका देश सुहाउँदो नाराहरूको निर्माण गर्छन् र विभिन्न कार्यक्रमहरू उत्पादन गरी अभियानको रूपमा मनाउने गर्छन् । नेपालमा विगतका वर्षहरुमा मानव अधिकार संघ–संगठनहरूले लैैङ्गिक हिंसा विरुद्धको दिवस मनाइरहेका छन्, भने महिला हिंसा र बलात्कारका घटनाहरु पनि उत्तिनै बढिरहेका छन् ।

नेपालको संविधानमा महिला अधिकारको व्याख्या गरेको छ । महिला हक सम्बन्धी : महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ, महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ, सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ, भनिएको छ, तर यी संविधानमा लेखिएका कुराहरूको मर्म महिला अधिकारको सुनिश्चितता भने हुन सकिरहेको पाइदैन । आजको एक्काइसौ शताब्दीमा महिला मारिनु, कुटिनु हँुदैन । जसका लागि हिंसा विरुद्धको अभियान सार्थकता बनाउन सम्पूर्ण समाजिक संघ–सस्थाहरु एक ढिक्का भई सामाजिक विकृतिको विरुद्ध सशक्त अभियान चाल्न जरुरी छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update