Shittalpati
तिहारमा संयम र सावधानी

हिन्दु नेपालीहरु तिहारको संघारमा छन् । फूलै फूलको पर्वका रुपमा लिने तिहार पर्व हरेक वर्ष विशेष हुने गर्दछ  । सधैँ उत्साह, उमङ्ग र आनन्दपूर्वक तिहार मनाइने गरिन्छ । तर यस पटक भने संयम, सावधानी र सचेतता साथ मनाउनु परेको छ । कोभिड—१९ को संक्रमण नियन्त्रित हुँदो हो वा नहुँदो हो त नेपालीले आफ्नो यो साँझा चाड मन फुकाएर मनाउँथे । तिहार अथवा दिपावलीलाई झिलिमिली बत्तीहरूको चाडका रूपमा लिइन्छ । तिहारको अवधिभरि सबैले आ–आफ्नो घरमा दियो बत्ती बालेर झिलिमिली बनाउने चलन छ । तिहारको रमाइलोमा भुलेर आफ्नो सुरक्षाका बारेमा भने सोच्न बिर्सनु हुन्न । तिहार धार्मिकभन्दा पनि नेपालीको मौलिक पहिचान सहितको साँस्कृतिक पर्व हो । तिहार पटाकाको चाड पनि हो । तर हिजोआज शान्ति सुरक्षाका कारण पटाका किनबेचमा छुट छैन । तैपनि मानिसले लुकिछिपी पटाका किनेर छरछिमेकलाई समेत असर पर्ने गरी यसलाई पड्काउने गर्छन् । यसो गर्नु राम्रो भने होइन । चाडपर्वमा रमाइलो गर्ने नाममा अरूलाई बाधा पु¥याउनु हुँदैन । त्यसैले पनि यस्ता स–साना कुरामा ध्यान दिनुपर्छ ।

संसारभर नेपाली जाति जहाँ पुगे पनि तिहार आफ्नै शैलीमा जो मनाउँछन् । दिदीभाईको पुनर्मिलन र स्नेह तथा सद्भावको पर्व हो तिहार । यसैले वर्षभर घरबाहिर भएकाहरू पनि दिदीको हातको टिका लगाउन घर फर्कने चलन छ । यस वर्ष भने घरबाहिर रहेकाहरू परिवार भएका ठाउँमा फर्कन निकै सोंच विचार गर्नुपर्नेे देखिएको छ । यो पक्कै पनि सुखद् अवस्था होइन । घर फर्केर पनि छरछिमेकी, इष्टमित्र, साथीसङ्गीसँग भेटघाट र रमाइलो गर्न निकै सावधान हुनुपर्ने स्थिति छ । कोही पनि आफ्नो परिवार वा समुदायमा कोभिड—१९ को संक्रमण फैलाउने कारक बन्न त पक्कै चाहँदैन । परीक्षण नगरिएकाहरू मात्र हैन परीक्षणमा संक्रमण मुक्त देखिएको व्यक्ति समेत कुनै पनि क्षण संक्रमित र संक्रमणको वाहक हुनसक्छ । यसैले तिहारका अवसरमा परिवार र समुदायमा आफ्नो कारणबाट संक्रमण फैलन नदिन कसैले पनि हेलचेक्य्राइँ गर्नु हुँदैन । दिदी बहिनीबाट आशिर्वाद त सधैँ पाइएकै हुन्छ । यस वर्षको तिहारमा पनि पाइन्छ । फरक, यत्ति हो यसवर्ष धेरै नजिक गएर, भिडभाड गरेर टीका नथापौँ । सार्वजनिक यातायातमा लामो दूरीको यात्रा गर्नुपर्ने भए यो वर्षको तिहार बसिरहेकै ठाउँमा मनाऊ । तर, जसरी पनि दसैँ मनाउने भनेर संक्रमणको वाहक नबनौं ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update