Shittalpati
नवरात्री प्रारम्भ र दसैँको महत्व

आजदेखि नवरात्री प्रारम्भ भएको छ । आश्विन शुक्लपक्ष प्रतिपदाका दिनलाई घटस्थापना पनि भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुने गर्दछ । यसै दिन जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ । नवरात्री आरम्भ दिन बिहानीमै आत्मशुद्धिपश्चात् नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । नवरात्रको पहिलो दिन घटस्थापना गर्ने, नौ दिनसम्म शक्तिस्वरूप भगवतीको पूजा गर्ने, देवी माहात्म्य पाठ गर्ने शक्तिपीठ दर्शन गर्ने र दशमीका दिन मान्यजनको हातबाट टीका, जमरा र प्रसाद लगाउने भन्ने बुझिन्छ । नवरात्रीको आफैमा महत्व रहेको छ । तर पनि यस समयमा हुने घटस्थापना, फूलपाती, महाष्टमी, महानवमी र विजया दशमी चार दिनको महत्व अझ बढिरहेको हुन्छ । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्तीलाई फूलपाती वा नवपत्रिका भनिन्छ । यही फूलपातीका प्रत्येक पत्रमा एक–एक देवीको पूजा गर्ने चलन छ । दशैंघरमा कोटबाट ल्याइएको फूलपाती भिœयाउने चलन छ । नवरात्रीभरि नै शक्तिपीठहरू भक्तजनको गन्तव्य बन्ने गर्दछन् । यस दिन विशेषगरी रातमा प्रत्येक दसैँ घर तथा शक्तिपीठहरूमा कालरात्री गर्ने चलन छ । तान्त्रिक विधि अनुसार कालरात्री गर्ने विधि शास्त्रमा बताइएको छ ।

कालरात्रीका क्रममा कतिपय ठाउँमा बोका बलि दिइन्छ । शक्तिपीठहरूमा भने बोका राँगा लगायतका पञ्चबलि दिने चलन छ । तर यस वर्ष भने विश्वभर फैलिएको कोभिडका कारण भीडभाड, जमघट नगर्न सरकारले आग्रह गरेकाले पनि शक्तिपीठहरुमा बली दिने कार्य कम हुने आंकलन गर्न सकिन्छ । यसलाई सकरात्मक रुपमा लिन जरुरी छ । कोभिडका कारण यस वर्षको दसैँ त्यत्ति उत्साहजन देखिदैन । दसैँ पर्व हाम्रो संस्कृति हो । यसलाई तडकभडक साथ मनाउनुभन्दा पनि यसको संस्कृतिको बारेमा हामीलाई थाहा हुन जरुरी छ । हाम्रो परम्परा र संस्कृतिलाई बचाउनु पर्दछ तर यसलाई पर्वको रुपमा मनाउँदा आफ्नो आर्थिक र स्वास्थ्य अवस्थालाई ख्याल गर्न सकेनौँ भने यसले हामीलाई दसैँ नभए र दशाको रुपमा परिणत गरिदिन्छ । दसैँलाई बडा दसैँ, विजया दशमी आदि नामले प्रचलित छ । यो नेपालीहरुको प्रमुख पर्व पनि हो । शास्त्रमा उल्लेख भए अनुसार भगवान रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्यमाथि सत्यको विजयको रूपमा हिन्दुहरुले विजया दशमीको पर्व मनाउने प्रचलन रहदै आएको छ । प्राचीन कालमा राजाहरू यसदिन विजयको प्रार्थना गरेर रणयात्राको लागि प्रस्थान गर्दथे भन्ने भनाइ रहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update