Shittalpati
चैते दशैं र परम्परा

चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं बुधबार मनाइएको छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं मनाइएको हो । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । यो दशैंको आफैमा ठूलो र छुट्टै महत्वको छ । पुराना कथनहरुका अनुसार पहिले–पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँडडुलले धेरै जना बिरामी परेपछि दशैंलाई वर्षको मध्यमा सारिएको मान्यता छ । यो चैते दशैं शरद ऋतुमा मनाइने बडा दशैंमा जस्तो बाहिरी उल्लास र चहल पहल नभए पनि समग्रमा उल्लासमय हुने गर्दछ । यस दिन दुर्गा भवानीको पूजाआजा गर्ने र खास गरेर अष्टमी तिथिको दिन आफन्तजनसँग बसेरसँगै खानपिन गर्ने गरिन्छ । चैते दशैंलाई कतिपय ठाउँमा सानो दशैं भन्ने चलन पनि छ । वास्तवमा दशैं भन्ने वित्तिकै दशमी भन्ने बुझिन्छ, तर फेरि नेपालमा दशैंको रौनक भने अष्टमीको दिन बली दिने कुराहरुमा केन्द्रित रहन्छ ।

चैत दशैंको दिन अशोकको फूल खानाले रोग आदि नाश हुन्छ भन्ने जनविश्वास रहिआएको छ । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रुपमा मनाईने चैते दशैंमा विभिन्न शक्तिपिठहरुमा पशुवली दिने गरिन्छ । आजकै दिन मर्यादा पुरुषोत्तम श्रीरामले १४ वर्ष वनवास सकाएर आयोध्या फर्किएको धार्मिक बिश्वास छ । रावणको दानवीय व्यवहारबाट संसारलाई जोगाउन भगवान रामले रावणको बध गरेको विश्वास गरिन्छ । रावणमाथि विजय प्राप्त गरेको सम्झनामा समेत चैते दशैं मनाउने परम्परा छ । चैते दशैंमा छोरी चेली लगायत दिदी बहिनीहरुलाई बोलाएर खुवाउने चलन पनि गाउँघरमा रहेको छ । पछिल्लो समयमा चाडपर्वको रौनकता र महिमा घट्दै गएपनि गाउँघर तिर भने उत्तिकै महत्व रहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update