Shittalpati
लाखे नाच संरक्षण र प्रवद्र्धनमा चासो देखाऔं

लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् । प्रायः नाच देवीदेवताका हुन्छन् । यी मध्ये लाखे नाच धेरै रोचक हुन्छ । यो नाच गुँला पर्वदेखि  पाल्पासहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा देखाइन्छ । कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ । नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ ।

लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा विभिन्न मतभेद रहेको छ । कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने तर्क पनि राख्दछन । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ पनि छ । तर राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखे नाच नाच्ने गरेको पाइन्छ । लाखे नाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ । खिं, पछिमा, नायिखं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाइन्छ । नेवार समुदायमा बढी प्रचलित रहेको लाखे नाच पाल्पाबाट लोप हुने अवस्थामा भए पनि प्रचलित नै छ । नेवार समुदायको बाहुल्यता रहेको तानसेनमा यस नाचले थोर बहु आफ्नो स्थान ओगटेकै छ । नेवार समुदायमा लाखेको खप्पर बनाउने र लाखे निकाल्ने बेलामा पूजापाठ गर्नुपर्ने प्रचलन रहे पनि पछिल्लो पुस्तामा लाखे नाच हराउँदै गएकाले पूजापाठको परम्परासमेत पनि हराउदै गरेको महुस गरिएको छ ।

सेनकालीन सभ्यतादेखि नै पाल्पाको तानसेनलाई काठमाडौंको भाइ मानिँदै आएको छ । भाषा, कला, धर्म, संस्कृति र साहित्यको उर्वर स्थलका रूपमा पाल्पा परिचित छ । कत्युरीवंश, पालवंश, खसवंश, सेनवंश र शाहवंशले शासन गरेको पाल्पामा उनीहरूले अवलम्बन गरेको रीतिरिवाज, रहनसहन, कला, वास्तुकला आजसम्म पनि कहीँ न कतै जीवन्त छ । विजय उत्सवका रूपमा मनाइने पाल्पाको प्रसिद्ध भगवती माईको रथयात्रा, प्रेमसँग जोडिएको लाखे नाँच, एग्रो रिलिजनसँग सादृश्य राख्ने रोपाइँजात्रा, मृत्यु गणनासँग सम्बन्धित सापारु जात्रा, प्रकृतिसँग जोडिएको बाघजात्रा आदि तानसेनका मुख्य जात्रा तथा पर्व हुन् । जात्रा पर्वको माध्यमबाट आपसी भाइचारा, विश्वास, भ्रातृत्व, भगिनीत्व र बन्धुत्वको भावना कायम रहन्छ । यसले पुस्तान्तरणलाई पनि जोडेर राख्छ । समुदायलाई एकताको बन्धनमा बाँधेर राख्ने यस्ता जात्रा, पर्व र संस्कृतिको संरक्षणमा पछिल्लो पुस्ताको आकर्षण भने बढ्न सकेको छैन । संस्कृति सम्वद्र्धनमा पुराना पुस्ता खटेर लाग्न नसक्ने र नयाँ पुस्ताले बेवास्ता गर्दा पछिल्लो समय जात्रा पर्वको रौनक हराउँदै गएको हो । युवा पुस्ताहरूले बेवास्ता गरेको लाखे नाँच पछिल्ला वर्षमा हराउँदै जान  थाले पनि पाल्पाका केही युवाहरु जनतन त्यसलाई जोगाउन प्रयास गरिरेहका छन् ।  यहाँ पाल्पाको लाखे नाचका विषयमा केन्द्रीत रहेर चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ । लाखे नाचको बारेमा व्याख्या गर्नु पूर्व पाल्पाका जात्रा र पर्वहरुको सुरुवाती अवस्था र वर्तमान अवस्थाका बारेमा थोरै उल्लेख गर्न चाहन्छु । २०१८ सालतिर पाल्पाको तानसेनमा स्व. लाले जोकर, स्व. प्रराण प्रसाद उदय, स्व.ब्रमशेखर बज्राचार्य, स्व. चन्द्रमान श्रेष्ठ, स्व.बुद्धरत्न शाक्य, स्व. थापा काका, स्व. डण्डे बाहुन, स्व. युक्तलाल चित्रकार, स्व. बाबुराम सुवाल स्व. रामबहादुर चौधरी लगायतका कलाकारहरुले छोकडा नाँच, चुइकी फिराइ, गाँठे मंगल, लाखे नाँच निकाल्ने गरेका थिए । २०२८ सालपछि भने देउराली परिवार, मित्रु सिं हेमचुरीको, टक्सारको मैत्री क्लव, बसपार्कको कल्याण कोष समितिबाट  छोेकड़ा नाँच निकाल्ने गरेको पाइन्छ । जुन नाच प्रत्यक्ष रुपमा मुखले गाएर, हार्मोनियम, मादल, तबला सहित अन्य बाध्यवादन बजाएर केटालाई केटीको भेषभुषामा सजिएर (मारुनी र जोकर) समूह भएर नाच्ने गरिन्छ । जुन बेला सञ्चारका माध्यमहरु र अन्य मनोरञ्जनका साधन थिएनन् ।  त्यति बेला  सो नाच हेर्नको लागि गाउँ– गाउँबाट  मानिसहरु तानसेन आउने गर्थे । २÷४ दिन तानसेनका होटल र पाटी पौवामा बास बसेर उनीहरुले नाँच हेरेर फर्कन्थे । मइन्टोल, लाल्टिन बालेर नाच हेर्ने गरिन्थ्यो । पछि सञ्चारका साधानहरु प्रसस्त मात्रमा खुल्न थाले र मनोरञ्जनका साधन पनि भए । जसका कारण यी मौलिक नाचहरु विस्तार हराउन थालेका हुन् । अर्कातिर नाच खर्चिलो भएकाले पनि यो देखाउन कम भएको हो । मौलिक संस्कृति लोप हुन थालेपछि २०५२ देखी कल्याण कोष समिति (क्लव) ले त्यसको संरक्षण्मा केही चासो देखाएको हो । लोप हुने अवस्थामा पुगेका गाँठे मंगल, चुड्की फिराइ, प्रहसन, बाघजात्रा र लाखे नाच निकाल्दै आएको थियो । त्यति बेला अर्चले, बराङ्दी, बर्तुङ, काजीपौवा, धरमपानी लगायतका स्थानबाट रोपाई जात्रा निकाल्ने गरिन्थ्यो, तर पछि यहाँका स्थानीय सरकार र बजारका व्यापारीहरुबाट  आर्थिक सहयोग हुन छोडेपछि यस्ता जात्रा विस्तारै देखाउन छोडियो । क्लवले पनि सहयोग नभएपछि क्रमशः छोड्दै जान थाल्यो । लाखे नाँच तानसेनको रणउजेश्वरी भगवती मन्दिरमा जागरामका दिन देखाउने गरिए पनि २०६२÷०६३ मा २ वर्ष त्यो देखाइएन । हरेक वर्ष लाखे देखाउँदा रमाइलो हुने र मानिसहरुको भिड हुने गरे पनि त्यो क्रमशः कम हुँदै गयो । भगवती मन्दिरमा लाखे ननिकालेपछि यहाँका कलाकारहरुले आफै भए पनि निकाल्ने अठोट गरि २०६४ देखी लाखे निकाल्न थाले ।

२०५२ सालदेखि नै जिल्लाको कला संस्कृतिको संरक्षणमा काम गर्दै आएको कलाकारहरुको समूह पाल्पाली नाट्य कला सांस्कृतिक समूहले २०६४ साल देखी अहिलेसम्म निरन्तर रुपमा लाखे नाच देखाउँदै आएको छ । शुरुका दिनहरुमा समूहले लाखे निकाल्दा लाखेको खप्पर मात्र राखेर निकाल्ने गथ्यो । पछि चौरीको कपालको रुपमा  तानसेन बसपार्कका थमा·ा सिं पौडेलले स्वीटर बुन्ने कालो ऊनीको धागोलाई कटिङ गरी कपाल बनाइदिएका थिए । २०६५ सालमा तानसेनवासीबाट केही आर्थिक, तानसेन गुठी, गुठीका पदाधीकारी र हेमन्त कोलाक्षपती,  कोकील गोबिन्द श्रेष्ठ, शान्ता शाक्य, गृह मान सिं, भरत देउराली, अशोक महर्जन, स्व. श्याम कक्षपती जस्ता व्यक्तिहरुबाट लाखेको खप्पर, चौरीको बाल, ढोल, भ्याली सहयोग भएको थियो । जसले गर्दा लाखे नाचलाई थप स्तरीय बनाउन ठूलो भूमिका खेलेको कुरालाई विर्सनु हुँदैन । अर्को वर्ष थमा·ा बुबाबाट सिलबरको ढकनीबाट आफ्नै हातबाट कुडेर लाखेको खप्पर बनाइ दिनुभएको थियो । यसरी लाखे नाच नाँच्दै जादा तानसेनवासी र तानसेन नगरपालिका, देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पा, पाल्पा उद्योग वाणिज्य संघ, श्रीनगर यातायात लगायत थुप्रै संघ संस्थाहरुबाट थोरै, धेरै सहयोग रहयो । जसका कारण अहिलेसम्म ३ वटा पुरुष  १ वटा महिला लाखे नाच देखाउन  समूह सक्षम भएको छ ।  एक दिन लाखे निकाल्दा २२ हजार खर्च हुने गरेको छ । कहि कतैबाट सहयोग नभए यो देखाउन पनि सम्भव छैन् ।

गाठे मंगलका दिनदेखि तानसेनमा लाखे नाच देखाउन सुरु गरिएको छ । लाखे नाच नेवार संस्कृतिको धरोहर हो । नेवार संस्कृतिमध्ये वर्षे नाच अन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ । हिन्दू धर्म ग्रन्थमा वर्णित द्वापरयुगमा भगवान् श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको अभिनय गरी यो नाच नाच्ने गरिन्छ । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गरेको बताइए पनि राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाले बताएका छन् । संस्कृति संरक्षण गर्नु सबैको दायित्व हो, तर यसतर्फ राजनीतिक दल, सरकारले खासै चासो देखाएको देखिदैन । यो अत्यन्त चिन्ताको विषय हो । जसो तसो सहयोग जुटाएरै भए पनि पाल्पाली कलाकारहरुले यस्ता संस्कृतिहरुको संरक्षण गर्दै आएका छन् । यसलाई राम्रै मान्नुपर्छ । संस्कृतिको संरक्षण गर्नु कलाकारको मात्र दायित्व होइन, यसमा स्थानीय, प्रदेश र संघीय सरकारले समेत संरक्षरण र प्रवद्र्धनमा चासो देखाउन जरुरी छ । (लेखक पाल्पाली हाँस्य व्यङ्गयकालाकारसँगै पाल्पाली नाट्य कला सांस्कृतिक समूहका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update