Shittalpati
नागपञ्चमीको वास्तविकता

आज नाग पञ्चमी पर्व मनाइँदै छ । सर्प जातिका विशेष रूपले नाम चलेका अष्टनागलाई देवताको रूप मानेर परम्परा अनुसार पूजा आराधना गरी मनाउने गरिन्छ । यसै दिनमा नागलाई धारण गर्ने भगवान भोलेनाथको पनि पूजा आराधना गर्ने चलन छ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा ढोकामाथि वा ढोकाको दायाँ–बायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ । ज्योतिष शास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता भएकाले पनि यस दिन नागका अष्टकुल अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख) का नागहरूको पूजा गर्ने गरिन्छ । ती नाग घरको मूल ढोकामाथि वा ढोकाको दायाँ–बायाँ गाईको गोबरले टाँसेर पूजा गर्ने शास्त्रीय परम्परा रहेको छ । जसको महत्व महिमा बुझेर सही अर्थमा मनाउन सकेमा जो कोहीले पनि धेरै लाभ प्राप्त गर्न सक्छ तर  बजारबाट नागको तस्बिर किनेर ल्याउनु र फोटोमा अबिर छर्कनुजस्ता औपचारिकता निभाएर मात्र नाग देवहरुको आशीर्वाद प्राप्त गर्न सकिँदैन, यसको लागि त नागपञ्चमीको महत्व सही अर्थमा बुझेर पूर्ण श्रद्धा, भक्तिका साथ प्राण–प्रतिष्ठित नागको तस्बिरमा विधिपूर्वक पूर्वक पूजन गर्नु आवश्यक हुन्छ ।

नागहरूमा पानी पार्ने शक्ति भएको विश्वासले गर्दा वर्षाकालमै नागपूजा गर्ने परम्परा रहेको हो भन्ने किवदन्ती रहेको छ । नागपञ्चमीको दिनमा नागको मूर्तिहरूमा दूध र दहीले स्नान गराउने र अर्पण गर्ने चलन छ । सर्पलाई गहनास्वरूप प्रयोग गर्ने शिवको ऋषेश्वर स्वरूपलाई पनि यसै दिन स्मरण र पूजन गरिन्छ । घरभित्र सर्प नपसुन् भनेर मूलढोकाको माथिल्लो भागमा अष्टनाग र कालियदमन चित्र टाँसिन्छ । नाग र मानिसको सम्बन्ध परापूर्वकालदेखि नै कुनै न कुनै रुप र स्वरुपमा रहिआएको पाइन्छ । जसले गर्दा नागलाई देवता मान्ने धर्मावलम्बीहरुले धार्मिक आस्था र विश्वासको रुपमा यस पर्वलाई भव्यताका साथ मनाउने परम्परा रहेको छ । नागपञ्चमी पर्वले नागहरु एवं अन्य जीवहरुप्रति सम्मान,सम्वद्र्धन एवं उनीहरुको संरक्षणको लागि प्रेरणा दिन्छ । यो पर्व प्राचिन समयअनुरुप आज पनि हाम्रो अन्तरदृष्टिमा उत्तिकै आवश्यक एवं प्रासंगिक छ । हाम्रो कृषि सम्पदाको नाश गर्ने जीवहरुबाट रक्षाका साथै पर्यावरण रक्षा, जलस्रोत र वन सम्पदा पनि नागको महत्वपूर्ण भूमिका रहेको छ भने आध्यामिक हिसाबले पनि नागको महत्व धेरै ठूलो छ । नागको कृपा र आशीर्वाद प्राप्त गर्न सकेमा हाम्रा भौतिक एवं आध्यात्मिक उन्नति, प्रगति सहजरुपमा हुन सक्छ तर त्यो त्यति सहज छैन । यसका लागि त श्रद्धा, भक्तिका साथ सद्गुरुदेव प्रदत्त प्राण प्रतिष्ठित नाग तस्बिर स्थापना र पूजनको आवश्यकता हुन्छ । त्यसो गर्न सकियो भने मात्र वास्तविक नागपञ्चमी पर्वको महत्व रहन्छ । 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update