Shittalpati
लोकतन्त्रमा मौलाएको तानशाह शैलीको अन्त्य कहिले ?

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको भजन गाउँदै व्यवहार र कार्यशैली भने तानशाह शैली देखाउने प्रवृत्ति आज भोली नेपालका राजनीतिक दलका नेतृत्व वर्गमा मौलाउदै गएको विषय बनेको देखिन्छ । मौलाउँदै गरेको यस प्रवृत्तिको अन्त्य हुने सम्भावनाको खोजी कहि कतैबाट गरेको पनि देखिदैन् । यो शैली राजनीतिक दल भित्र र सरकार सञ्चालनको क्रममा दिनप्रति दिन बढ्दै गएको छ । जनताहरु साशन शैली अलि फरक होस्, नयाँ–नयाँ पुस्ताले साशन सञ्चालन गरुन् भन्ने चाहना राखेको देखिन्छ तर मूख्य दलका नेतृत्व भने वाचन जरी आफै पार्टी नेतृत्वमा रहिरहु, वाचन जरी सत्तामा रहि रहने गरि आफु अनुकुलको नियम बनाउन तमतयार भएको देखिन्छ । सकन जरी सत्ता र शक्तिको वरपर बस्न चाहने विशेष गरेर राजनीतिक दलका नेतृत्व देउवा, ओली ,प्रचण्डलाई फाईदा भएता पनि दल भित्रका क्षमतावानहरु कहिलै आफ्नो क्षमता देखाउन नपाउने गरि पाखा लाग्ने सम्भावना बढ्दै गएको देखिन्छ भने देशले पनि समय अनुकुलको साशन शैलीको अभ्यास गर्न सक्ने नेतृत्व नपाउदा समय अनुशारका योजना पाउन सकेको देखिदैन् । भाषण र कुरा मात्रै होइन पाटी भित्र होस् वा साशन सञ्चालनमा होस् लोकतन्त्रको अभ्यास हुन जरुरी देखिन्छ । यहाँ राजनीतिक दलका मुख्य नेतृत्वले देखाउने अलोकतान्त्रिक चरित्र,तानशाह शैली  र यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

राजनीतिक नेतृत्वको तानाशाह व्यवहार :  केहि दिन अगाडि एमालेको सचिवालय बैठक तथा केन्द्रीय समिति बैंठकमार्फत विधानमा भएको पाटी नेतृत्वमा ७० वर्षे उमेरहदलाई तनाशाह शैलीमा एमालेका अध्यक्ष ओलीले हटाएर बाचन जरी एमाले नेतृत्वमा रहने अवस्थाको सुनिश्चितता गरेका छन् भने सोही बैठकमार्फत आफ्नो प्रतिस्पर्धीको रुपमा स्थापित हुन् खोजेकी पूर्व राष्ट्रपति विद्या भण्डारीको उद्देश्यमा अवरोध गर्ने गरि एमाले पार्टी सदस्यता नविकरण नगर्ने निर्णय पनि गरेको देखिन्छ । आफ्ना विरुद्ध फरक मत राख्नेलाई ओलीले कारवाही गर्ने, निलम्वन गर्ने गरेको देखिन्छ । यस्तो शैली लोकतन्त्र माथिको उपहास हो । झट्ट हेर्दा सामान्य जस्तो लाग्ने यी दुई विषय वस्तु केहि आसेपासे, गुट र स्वार्थमा रमाउनेहरुलाई मन परेता पनि यसले देखाउन खोजेको एउटै पक्ष हो तानशाह शैलीको अभ्यास, पाटी भित्रको आन्तरिक लोकतन्त्रको अन्त्य र दास मनोवृत्तीलाई गर्न खोजिएको प्रोत्साहन । यस्तै शैली आफुलाई प्रजातन्त्रको अब्बल ठान्ने काँग्रेस पार्टीमा पनि मौलाउँदै गएको देखिन्छ । काँग्रेस सभापति शेरबहादुर देउवाले पनि यस शैलीलाई  अबलम्वन गरि रहेको देखिन्छ । तोक्नु पर्ने काँग्रेस महाधिवेशनलाई रोकेर आफु प्रधामन्त्री भइसके पछि सत्ता शक्तिको आडमा आफु वा आफु अनुकुलको लागि काँग्रेस नेतृत्वमा ल्याउन चाहनु, निर्णय लाद्नु, सहकर्मीका कुरा सुन्न नचाहनु, सिमित गुट र स्वार्थ समूहमा रमाई रहनु तानशाह शैली हो । साथै लोकतन्त्रको भजन गायता पनि पार्टी भित्रको आन्तरिक लोकतन्त्र स्थापित गर्नमा चुकिरहेको देखिन्छ । आफु बाचन जरी आफु वा आफ्ना शक्तिमा रहिरहुन भन्ने उनको उद्देश्य देखिन्छ । वि.स २०६२/०६३ को जनआन्दोलनपछि भएका हेरक परिवर्तन आफ्नो कारण भएको दावी गर्ने माओवादी र त्यसका अध्यक्ष प्रचण्डले पनि जति लोकतन्त्रका कुरा गरेता पनि पार्टी भित्र यो स्थापित गर्न नसक्दा बलियो पार्टी टुक्रा–टुक्रा भएको विगत देखिन्छ भने नेतृत्व हस्तान्तरण गर्ने चाहना पनि उनीमा देखिदैन् । बाचन जरी पाटी नेतृत्वमै रहने उनको उद्देश्य देखिन्छ । पुराना राजनीतिक दलको सोच नै पुरानो भएर यसो भएको हो की ? भन्ने प्रश्न उठेता पनि आफुलाई नयाँ भन्ने तराई मधेसका विभिन्न राजनीतिक दल, माधव नेपालको समाजवादी, बाबुरामको नयाँ शक्ति र राप्रपा जस्ता पार्टीमा पनि यो तानाशाह शैलीको अभ्यास भएकै देखिन्छ । यसका साथै आमुल परिवर्तनको उद्देश्य बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी भित्र पनि यो झनै उर्वर रुपमा रहेको देखिन्छ । उसले अहिलेसम्म महाधिवेशन गरेर लोकतान्त्रिक प्रक्रियाद्धारा नेतृत्व तय गर्न सकेको देखिदैन् भने अदालतले दोषी ठहराई सकेका र जेलमा रहेका आफ्ना सभापतिको विकल्प खोज्ने आट पनि गर्न सकेको देखिदैन् । यी उल्लेखित पक्षहरुले एकातिर  लोकतान्त्रिक पद्धतीलाई लत्याउदै तानशाह शैलीलाई प्रोत्साहन गर्न खोजीएको देखिन्छ भने अर्को तीर पछिल्लो समय साशन व्यवस्था र साशन शैली माथि बढ्दै गएको असन्तुष्टि र आलोचनाको यो एक मुख्य कारण बनेको देखिन्छ । प्रजातन्त्र र लोकतन्त्र भजन गाउने र भाषण गर्ने  विषयवस्तु मात्रै होइन यो १०४ वर्षे जहानीया राणा साशनको अन्त्य, करीव ३० बर्ष बढीको पञ्चायती साशन व्यवस्थाको अन्त्य, १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलनबाट प्राप्त अधिकार हो । नेपालका राजनीतिक दलका नेतृत्वले स्वार्थमा रमाएर  यसको मर्म र भावना माथि चाहे पार्टी भित्र होस् चाहे साशन सञ्चालन गर्ने क्रममा होस् पटक–पटक प्रहार गरिरहेको देखिन्छ । समाचार लेखेकै भरमा, सामाजिक सञ्जालमा बोलेकै भरमा, आफ्नो विरोध गरेकै भरमा, पाटी भित्र  एस म्यान नबनेर फरक मत राखेकै भरमा निषेधको राजनीति अपनाउने, पक्राउ पूर्जी जारी गर्ने, थुन्ने, पञ्चायती शैलीमा झुट्टा मुद्दा लगाउने, समाचार प्रकाशनमा नियन्त्रण गर्न खोज्ने कार्य गरिरहेको देखिन्छ । पाटी भित्र होस् या सरकार सञ्चालनमा एकल निर्णय लाद्ने, संविधान तथा ऐन नियमको आफू अनुकुल व्याख्या गर्ने, राज्यका अंगहरुलाई आफु अनुकुल प्रयोग गर्ने, यो लोकतन्त्र भित्रको तानशाह शैलीको अभ्यास हो भन्दा फरक नपर्ला  ।

मुख्य कारणहरु/समाधानका पक्षहरु :
–नेताहरुमा सत्ताको लोभ र पद मोह हुनु ।
–राजनीतिक नेतृत्वको खराव कुराको प्रतिवाद गर्न नसक्नु ।
–दल भित्र आन्तरिक लोकतन्त्रको अभाव ।
–नागरिक सचेतनाको कमी र कमजोर प्रतिपक्ष ।
–कानुनी साशन/विधिको साशन/सुशाशनको अभाव ।
– विकेन्द्रीकरणको सच्चा प्रयोग नहुनु ।

 निष्कर्ष : मै लाउ मै खाउँ भन्ने विचारले कार्य शैलीमा तानशाह भित्र्याउन मद्दत गर्दछ । यस मामलामा नेपालका कुन दल अछुतो देखिदैनन् । तर  लोकतन्त्र गणतन्त्रको सुन्दर पक्ष हो । यहि काराण गणतन्त्रलाई लोकप्रिय साशन व्यवस्था मानिने गर्दछ । तर नेपालको राजनीतिमा  दलका नेतृत्वमा देखिने तानशाह शैलीले पाटी भित्र र साशन सञ्चालनमा कतै न कतै  विगतदेखि वर्तमान सम्म निरन्तरता पाएको देखिन्छ । लोकतान्त्रिक साशन व्यवस्था अबलम्वन गर्ने तर व्यवहार र कार्यशैलीमा तानशाहीको लक्ष्ण देखिनु गम्भिर पक्ष भएकाले यस पक्षमा सुधार गरेर दल भित्रको आन्तरिक लोकतन्त्रलाई प्रोत्साहन गर्दै साशन व्यवस्था सञ्चालनमा यस पक्षले प्राथमिकता पाउनु जरुरी देखिन्छ । यसका लागि संविधान र ऐन नियमका शब्दले होइन राजनीतिक दल र तीनका नेतृत्वनै आ – आफ्नो ठाउँबाट सुध्रिनु जरुरी देखिन्छ । (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।) 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update