Shittalpati
मानव बेचबिखन गर्नेलाई कारवाही गरौं

आज जुलाई ३० अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस हो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले सो दिवस मनाउन थालेको हो । हरेक वर्ष यो दिवस मनाउने गरिए पनि मानव बेचविखन भने रोकिएको छैन् । यो थप संस्थागत भएको महशुस भएको छ । विश्वमा नै मानव बेचविखनका स्वरुपहरु फरक भएका छन् । समाजमा गरिवी र मान्छेबिचको आर्थिक खाडल फराकिलो बन्दै गएपछि मानव बेचविखनको अवस्था अझ बढेको छ, फरक ढंगले आइरहेको छ । मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले महिला, बालबालिका मात्र होइन वयश्क पुरुषहरुलाई समेत गलत कार्यहरुमा जवर्जस्ती संलग्न गराउने गरेको छ । मानव बेचबिखनको प्रवृति फेरिँदै गएको छ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ । कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार हो ।

नेपालमा बर्षेनी मानब बेचविखनको अवस्था भयावह हुँदै गएको छ । यसको गतिविधिले नेपाली समाज आक्रन्त बनेको छ । मानव तस्करले छिमेकी भारतसँगै तेस्रो मुलुक लैजाने गरेका छन् । यस्ता अपराधिक क्रियाकलाप रोक्न प्रहरी युनिटदेखि अनेकौं एनजिओ, आइएनजिओ छरपष्ट देखिएका छन् तर, चेलीबेटी बेचिने क्रम भने बढेर गएको छ । विशेष गरी १८ देखि २४ वर्षसम्मका युवायुवती मानव बेचबिखनको उच्च जोखिममा रहेका छन् । विगतमा चेलीबेटी बेचविखन हुने गरेको पाइए पनि पछिल्लो समयमा मानव बेचबिखन नै हुन थालेको छ । यो अत्यन्त दुखको कुरा हो । यौन व्यवसाय, जोखिमपूर्ण घरेलु श्रम, होटल, डान्स रेष्टुरेण्टमा काम गराउन, लागुपदार्थ ओसारपसार र मानव अङ्ग बेचबिखन जस्ता कामका लागि मानव बेचविखन हुने गरेको छ । नेपालमा सरकारले मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रण सम्बन्धी कानून ल्याए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा बेचबिखन नियन्त्रण हुन नसकेको हो । अवैध मार्गबाट अनेकौ बहानामा वेश्यावृत्तिका लागि नै चेलीबेटी बेचिनु कुनै पनि दृष्टिकोणले उचित मान्न सकिदैन । सीमा सुरक्षामा प्रभावकारी जाँच नहुनु कानुनको कार्यान्वयन नहुनु, कारवाही फितलो हुनु, कारवाही पनि पहुँचको आधारमा गरिनु जस्ता गलत प्रवृत्तिले गर्दा यो समस्या जटिल बन्दै गएको देखिन्छ । यस्ता गलत काम गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update