Shittalpati
राजस्व चुहावट रोक

नेपालमा पछिल्लो समय राजस्व असुलीको अवस्था निकै निराशजनक देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा सरकारले ५ खर्ब ८२ अर्ब राजस्व संकलन गरेको छ । जबकि यो वर्ष १४ खर्ब ३ अर्ब राजस्व उठाउने लक्ष्य राखिएको थियो । वर्षका आठ महिना बित्दा राखिएको लक्ष्यको करिब ४२ प्रतिशतमात्र राजस्व उठेको अवस्था छ । यो अत्यन्त दुखको कुरा हो । राजस्व कम उठ्नुुको मुख्य कारण राजस्व चुहावट हो । सरकारलाई बुझाउनुपर्ने राजस्व कम बुझाउने वा नबुझाउने नियतले ट्याक्स प्लानिङ गर्ने गरेका कारण अहिले यो अवस्था सिर्जना भएको हो । राजस्व छली महाअपराध हो । आफ्नै देशलाई ठगेर कमाइएको पैसाले कोही कसैलाई पनि राम्रो गर्दैन । तर, पनि राजस्वमा हुने छली रोकिनुको साटो बढ्नु दुर्भाग्यपूर्ण हो । यदि राजस्व चुहावट र छली नरोकिने हो भने नेपालमा आर्थिक अवस्था झन् विकराल बन्ने निश्चित छ । यसलाई रोक्न सरकारीस्तरबाटै प्रभावकारी कदम चालिनु आवश्यक छ ।

गत वर्ष उठेको राजस्वसँग तुलना गर्ने हो भने यो वर्षको खाडल १ खर्बभन्दा धेरै छ । सरकारको राजस्व असुलीमा गिरावट आएपछि यसको चौतर्फी असर परेको छ । सबैभन्दा ठूलो असर सरकारको चालू खर्च पनि राजस्वले धान्न सकेको छैन । फागुन २९ सम्ममा सरकारको चालू खर्च ६ खर्ब ६ अर्ब पुगेको छ । यही अवधिमा उठेको राजस्वले चालू खर्च धान्न ३१ अर्ब नपुगेको देखिन्छ । राजस्व लक्ष्य गरेजसरी नउठ्ने संकेत देखिएपछि पूर्वअर्थमन्त्री विष्णु पौडेलले केही योजनामा खर्च कटौती गरेका थिए । त्यो राम्रो होइन् । अर्थतन्त्र चलायमान नभएको बेला जेजसरी हुन्छ, सरकारले खर्च बढाउनुपर्नेमा कटौती गर्नु उल्टो बाटोतर्फ लाग्नु हो । बरु सरकारले राजस्व उठाउने कार्यलाई प्रभावकारी र कडा बनाउनु पर्छ । राजस्व छली वा चुहावट गर्ने जो कोहीलाई पनि कडा कानुनी कारवारही गर्न सक्नुपर्छ । यसो गर्न सकियो भने मात्र राजस्वमा वृद्धि हुने र सरकारले निर्धारण गरेको लक्ष्य समेत पुरा हुने थियो । तसर्थ यसतर्फ सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update