Shittalpati
मूल्यवृद्धि नियन्त्रणप्रति वेवास्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको गठबन्धन सरकारको एक महिना पुगेको छ । तर मूल्यवृद्धि नियन्त्रणप्रति भने सरकर गम्भीर बन्न सकेको छैन । नयाँ सरकार आएसँगै मूल्यवृद्धि घट्ने अपेक्षा गरेका नेपाली जनताले झन् चर्को मूल्यको सामना गर्नु परेको छ । केही व्यपारीले आफूखुशी मूल्य तोकेर उपभोक्तालाई बिक्री गरिरहँदा समेत सरकार मुकदर्शक बन्नु दुःखद् हो । उपभोक्ताहरुले दैनिक उपभोग्य वस्तुमा नै बढी पैसा तिर्नु परेको छ । बजार अनुगमनमा देखिएको कन्जुस्याइँले व्यापारीहरुलाई मूल्यवृद्धिको लागि थप प्रोत्साहित गरिरहेको छ । देशमा अहिले अचाक्ली मूल्य वृद्धि भएको छ । तर पनि नियमनकारी निकाय कानमा तेल हालेर बसिरहेको अवस्था छ । अनियन्त्रित मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा आम उपभोक्ता ठूलो मारमा परेका छन् । दैनिक तरकारीको मात्र होइन, अन्य खाद्यवस्तुको पनि मूल्यवृद्धि भइरहेको छ । बजारमा अत्यावश्यक खाद्यवस्तु चामल, चिउरा, खाने तेल, घिउ, दाल, गेडागुडी, तरकारी, दूध, पानी लगायतका दैनिक उपभोग्य वस्तुको भाउ दिनप्रतिदिन बढिरहेको देखिन्छ ।

जनताका अत्यावश्यक दैनिक उपभोग्य वस्तु तथा सेवाको सहज र सुलभ आपूर्तिको व्यवस्था गर्ने भनिए पनि नयाँ बनेको सरकारले समेत मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा आमउपभोक्ता नराम्रोसँग पिल्सिन पुगेका छन् । आमउपभोक्ताको चुल्हो महँगीका कारण प्रभावित भएको छ । डेरा गरेर बस्नेका लागि त घरभाडा, खाना, छोराछोरीको पढाइ खर्च, औषधोपचार खर्च आदिले ढाड सेकेको छ । तर यसप्रति सरकार मूकदर्शक बनेर हेरिरहेको प्रतीत हुन्छ । सरकारको नियन्त्रण र प्रभावकारी अनुगमन नहँुदा दिनप्रतिदिन बजार अराजक बन्दै छ । बजार अनुगमनमा सम्बन्धित निकायले कन्जुस्याइँ गर्नुहुँदैन र उपभोक्ताको अधिकारको संरक्षणमा ध्यान दिन आवश्यक छ । यसो भयो भने समय समयमा हुने मूल्यवृद्धिको असर आमनेपाली जनताले भोग्नुपर्ने थिएन । त्यसो गर्न अहिले बनेको यो सरकार सफल भएमा अवश्य नै नेपाली जनताले आनन्दको सास फेर्न र केही राहतको महशुस गर्न पाउने छन् ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update