Shittalpati
दादुरा फैलन नपाओस्

बाँकेमा दादुरा महामारीकै रूपमा फैलिएको छ । यहाँका पाँच स्थानीय तहमा दादुराका २ सय ६५ जना बिरामी फेला परेका छन् । नेपालगञ्जमा भने एक जना दादुरा बिरामी बालकको मृत्यु भएको छ । यो अत्यन्त दुःखको कुरा हो । बेलैमा नियन्त्रणमा नलिइए अन्यत्र पनि सरी यसले महामारीकै रूप लिने जोखिम छ । संक्रमितको पहिचान र संक्रमण नियन्त्रणका लागि स्थानीय, प्रादेशिक तथा संघीय सरकारले सम्पूर्ण ध्यान पुुर्‍याउन जरुरी छ ।

नेपालले ऊ जमानामै उन्मूलन गरेको दादुरा रोग अहिले फेरी देखिनुु नेपालका लागि चुनौतीको विषय हो । हुन त रोग कहिल्यै पनि उन्मूूलन हुन सक्दैन । तर रोग महामारीका रुपमा फैलन नदिनका लागि भने पूर्वाधार निर्माण गर्न सकिन्छ । पूर्णखोपयुक्त जिल्ला घोषित बाँकेमै दादुराका बिरामी भेटिनुले हाम्रो स्वास्थ्य सेवाको कमजोरीलाई भने उदांगो पारेको छ । खोप सुनिश्चितता भनिएकोमा बाँकी छिद्रबाट सरुवा रोगले आतंकित पारेको छ । खोप लगाउन कसैलाई छुटाउन हुँदैनथ्यो भन्ने पाठ यो रोगको प्रभावले फेरि पनि सिकाएको छ । पाठ सिक्ने र भविष्यमा अझै सतर्क हुने कर्तव्य राज्य र नागरिक दुवैको हो । अहिलेलाई जुनसुकै मूल्यमा पनि सरकार दादुरा नियन्त्रण र यसको उन्मूलनमा अर्जुनदृष्टि दिएर लाग्नुपर्छ । ता कि दादुरा फैलन नपाओस् र यसलाई छिटो उन्मूलन गर्न सकियोस् ।

दादुरा रोग संक्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा विषाणु हावामा फैलिएर सर्छ । दादुरा रोगको लक्षण देखिनु भन्दा अघि तथा लक्षण देखिइसकेपछि पनि धेरै दिनसम्म संक्रमितले दादुराका विषाणु सार्दछन् । बालबालिकाहरू समूहमा जम्मा हुने या भिड हुने स्थानहरूमा समेत सजिलैसँग यो रोग एकअर्कामा सर्नसक्छ । दादुरा संक्रमणका कारण गम्भीर प्रकारका जटिलताका साथै मृत्युसमेत हुन सक्ने भएकाले संक्रमितको पहिचान गर्दै समुदायमा सर्न नदिन स्रोत, साधन र जनशक्तिको व्यवस्थापन लगायतमा जोड दिनु अहिलेको आवश्यकता हो । त्यसका लागि तीनै तहका सरकारहरू संवेदनशील हुन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update