अन्तर्वार्ता

संवाद [कोरोना (COVID 19) सँगको अन्तरवार्ता]

Shittalpati

मन बहादुर खत्री
इस्मा–२ हस्तिचौर, गुल्मी

संवाददाता : नमस्कार । तपाईंको परिचय दिनुहोस् न ।

कोरोना : नमस्कार । म कोराना भाइरस(COVID 19) । यतिबेला विश्व भम्रणमा निस्केको छु । मेरो यात्रा चिनको बुहान प्रान्तबाट सुरु भएको हो । यो यात्रा कहिले र कहाँ पुगेर टुगिन्छ मलाई नै थाहा छैन ।

संवाददाता :  अहिलेसम्म कति वटा राष्ट्र भम्रण गरि सक्नु भो त  ? 

कोरोना :  आजसम्म २०४ वटा ।

संवाददाता : तपाईंको यात्राको साधान के हो ? 

कोरोना :  मान्छे । म मान्छेको बुइ चढेर हिन्छु ।

संवाददाता : हजुर कस्तो–कस्तो ठाउँमा पुग्नु हुन्छ  ? 

कोरोना : म हरेक ठाउँमा पुग्ने कोशिश गर्छु । मान्छेको भिडभाड हुने खुल्ला तथा सार्वजनिक ठाउँहरु जस्तै मठ, मन्दिर, रंगशाला, कृषकको खेतबारी, यातायातका साधनहरु, उद्योग, कलकार्खानाहरु, कार्यालयहरु, सडक, बजार, चौतारो, खेलमैदान, आदि मेरा लागि रोचक गन्तव्य हुन् । तर म निम्ता नगरेसम्म कसैको घर छिर्दैन ।

संवाददाता :  हजुर एक्लै पनि ति स्थानमा पुग्न सक्नुहुन्छ  ? 

कोरोना : अँह सक्तिन । हरेक ठाउँमा पुग्न मलाई मान्छेको सहारा चाहिन्छ । हावामा त केही समयसम्म मात्र यात्रा गर्न सक्छु र त्यो पनि छोटो दूरीसम्म मात्र ।

संवाददाता :  हजुरलाई एक जना मान्छेले मात्र विश्वको कुना–कुनामा पुराउन सक्छ त ?

कोरोना :  नाइ, एउटै मान्छेले डुलाउने भनेको होइन । हजुरले कुरो बुझ्नु भएन । म जसलाई भेट्छु उसैको पछि लागी हाल्छु ।

संवाददाता : अनि मान्छेको शरीरमा प्रवेश गरे पछि कुन–कुन स्थानमा बस्नुहुन्छ  ? 

कोरोना : खास गरी म मान्छेको शरीरमा पुगेपश्चात नाक, मुख र आँखाको बाटो हुँदै उसको भित्री भागमा प्रवेश गर्दछु । सुरुको दुई चार दिनसम्म म उसको घाटीमा बस्छु । अनि त्यसपछि म क्रमश फोक्सोसम्म पुग्छु र फोक्सोमै मेरो डेरा रहन्छ । म जस्ता धेरै साथीहरु पनि बनाउँछु । मान्छे खोक्दा, हाँच्छियु गर्दा, हास्दा, हाई गर्दा, बोल्दा मेरा केही साथीहरु बाहिर निस्कन्छन् र विश्व भ्रमणमा जुट्छन् ।

संवाददाता : मान्छेको शरीरमा हजुरको प्रवेश भएको कुरा कसरी थाहा पाउन सकिन्छ ? 

कोरोना : मेरो प्रवेश पश्चात मान्छेलाई सुक्का खोकी लाग्छ । एक सय प्वोइन्ट चार डिग्री फरेन्हाइट भन्दा बढी ज्वरो आउँछ । उसलाई थकान लाग्छ । उसको छाती पनि ग्रहौं हुन सक्छ । घाँटी दुख्ने र सास फेर्न पनि अप्ठेरो हुन्छ ।

संवाददाता : हजुरलाई सबैभन्दा बढी मन पर्ने कुरा चाहीं के हो ?

कोरोना : प्राय सबै मन पर्छ । खासमा भन्नुपर्दा चिसो चाहीं अहिलेसम्म बढी रुचाएको छु ।

संवाददाता : अनि हजुरलाई मन नपर्ने कुनै चिज पनि छन् कि ?

कोरोना : धेरै छन् । संसारमा सबै मन पर्ने चिज मात्र हुँदैनन् नि । घाम, तातो पानी, साबुन पानी, अल्कोहल युक्त स्यानिटाइजर, मास्क, ग्लोभहरु, पि.पि.इ., अदुवा, वेसार, अमला, कागति जस्ता चिजहरु मन पर्दैन । यस्ता चिजहरुबाट म टाढै रहन्छु ।

संवाददाता : अन्त्यमा हजुरले भन्नै पर्ने केही कुरा छुट्यो कि ? 

कोराना : म एक्लै बाजा बजाएर हजुरको घरसम्म आउदिन तर लिनै आउनु भो भने म हजुरको घरसम्म मात्र होइन कि सम्पूर्ण नातागोताको सम्म पुग्नै पर्छ र पुग्छु । म हिड्दा कसैले चाल पाउँदैन । हप्ता दश दिन पछि मात्रै हल्का पाइलाका छापहरु देखिन थाल्छन् ।

संवाददाता : हस, समय दिनु भो । यहाँलाई धन्यवाद ।

कोरोना : धन्यवाद । 


प्रकाशित मिति: आइतवार, चैत्र २३, २०७६, ०२:५४:००
प्रतिक्रिया दिनुहोस्