Shittalpati
‘पर्यटन र कृषिबाट तानसेनलाई नमूूना बनाउँछौं’

पश्चिम नेपालको एक मात्र ऐतिहासिक सहरको रुपमा तानसेन परिचित छ । यहाँ ऐतिहासिक दरबार, रानीमहल, भगवती मन्दिर, अमर नारायण मन्दिर, भैरवस्थान मन्दिर, शित्तलपाटी (गोलो घर), यहाँका लोकप्रिय पर्यटकीय स्थलहरू हुन् भने ढाका र करुवा यहाँका मुख्य चिनारी हुन् । शाह राजवंशको उदय हुनुभन्दा अघि तानसेन मगर राज्यको राजधानी थियो । मगर भाषामा ‘तानसेन’ शब्दको अर्थ ‘उत्तरी बस्ती’ हुनाले यो सहरको नाम तानसेन राखिएको हो । कृषि र पर्यटन यहाँको मुख्य आम्दानीका स्रोत हुन् । यो नगरपालिकाको नेतृत्व अहिले नेपाली काँग्रेसका सन्तोषलाल श्रेष्ठले गरेका छन् । स्वास्थ्य, शिक्षा र प्रशासनिक क्षेत्रको लामो अनुभव संगालेका श्रेष्ठ अहिले कृषि र पर्यटनमार्फत नगरलाई नमुना बनाउने कामको थालनी गरेका छन् । तानसेनको विकास, सम्भावना, योजना र चुनौतीबारे नगर प्रमुखसँग नवजनचेतना राष्ट्रिय दैनिकका उप–सम्पादक रामचन्द्र रायमाझीले गरेको कुराकानीको सम्पादीत अंश :

दिनचर्या कसरी बितेका छन् ?
– निर्वाचित भएसँगै जनताको काममै व्यस्त छु । योजना बनाउदेखि कार्यान्वयन गर्ने काममा हामी दिनरात खटेका छौं । कहीले काही औपचारिक कार्यक्रमहरुमा समेत पुग्ने गरेका छु । यसरी नै दिनचर्या बितिरहेको छ ।

कृषि र पर्यटनका योजना र प्राथमिकता के–के हुन् ?
– हामीले पर्यटन र कृषिमार्फत नगरलाई नमूना बनाउने गरी योजना र प्राथमिकता अगाडि सारेका छौं । यहाँका नागरिकहरुको जीवनस्तर माथि उठाई नगरलाई समृद्ध बनाउन पर्यटन र कृषिलाई हामीले मुख्य प्राथमिकता दिएर काम गरिरहेका छौं । जबसम्म पर्यटन र कृषिको विकास हुँदैन तबसम्म यहाँका नागरिक समृद्ध बन्न सक्दैनन् । त्यसका लागि हामीले यहाँको कृषिलाई व्यवसायिकरण र पर्यटकीय क्षेत्रहरुको उचित संरक्षण र प्रवद्र्धन गर्ने गरी नीति तथा कार्यक्रम ल्याएका छौं । तानसेन आफैमा पर्यटकीय शहर हो । यहाँका पुराना र ऐतिहासिक सम्पदाहरुको उचित संरक्षण गर्दै नयाँ पर्यटकीय तथा धार्मिक स्थलहरुको समेत विकास गर्नेछौं । यहाँका अर्गेली, माडीफाँट, दमकडा जस्ता क्षेत्रहरु कृषिको उर्वरभूमि मानिन्छन् । ति क्षेत्रलाई व्यवसायिक रुपमा अगाडि बढाउने योजना हाम्रो छ । परम्परात कृषिलाई व्यसायिक बनाउने सकियो भने यहाँका नागरिकको जीवस्तर समेत माथि उठ्न सक्छ । तानसेनमा पर्यटन र कृषिका क्षेत्रमा धेरै काम गर्न सकिन्छ ।

अघिल्लो नेतृत्वले यी क्षेत्रलाई समेट्न नसकेको हो त ?
– यसअघिको नेतृत्वले धेरै कुरा समेट्न सकेको छैन । लिखित रुपमा धेरै कुरा भए पनि त्यसलाई व्यवहारमा व्याख्या गर्न सकेको देखिएन । अब हामीले कुरा भन्दा पनि काम गरेर देखाउनु छ । हामीले नगर भित्र रहेका खेतीयोग्य खाली जमिन भाडामा लिने योजना पनि बनाएका छौं । त्यहाँ खेती गराएर केही व्यक्तिलाई रोजगारी पनि दिन सकिन्छ । यहाँ अवसर छ तर ‘ग्यारेन्टी’ नहुँदा युवा विदेश गइरहेका छन् । व्यवसायकि कृषिको सुनिश्चिता भएपछि युवाले यहीँ काम गर्छन् । खेती गरेर रोजगारी बढाउन सकियो । विदेश नजान र विदेशमा रहेका युवालाई यही तान्न पनि सकियो । नगरवासीलाई स्वच्छ र ‘अर्गानिक’ तरकारी खुवाउन पनि सकियो । अर्कोतर्फ यहाँका ऐतिहासिक दरबार, रानीमहल, भगवती मन्दिर, अमर नारायण मन्दिर, भैरवस्थान मन्दिर, शित्तलपाटी (गोलो घर) जस्ता ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरुको उचित संरक्षणसँगै प्रचार प्रसार गरी धेरै भन्दा धेरै आन्तरिक तथा बाÞय पर्यटकहरु भित्र्याउने दीर्घकालीन योजना हामी बनाएका छौं । हामी क्रमशः देखिने र जनताको जीवनस्तर परिवर्तन गर्ने गरी काम गर्छौ ।

शिक्षा सुधार योजना के छन् ?
– हो, तानसेन सबै भन्दा पुरानो र काठमाडौंपछिको शैक्षिक हवका रुपमा चिनिएको शहर हो । विगतमा तानसेन शैक्षिक केन्द्रका रुपमा अगाडि थियो । तर दुखको कुरा तानसेनको भौतिक विकास र रोजगारका अवसरहरु सिर्जना गर्न नसक्दा पछिल्लो समय यहाँको शैक्षिक गतिविधि कम हुँदै गएको छ । शैक्षिक अवस्था खस्कदै गएकोप्रति हामी अत्यन्त गम्भीर छौंं । यहाँको शैक्षिक विकासका लागि नगर सरकार एक्लैले सम्भव छैन । त्यसका लागि प्रदेश र संघीय सरकारको समेत ध्यान जानुपर्छ । हामीले सीमित स्रोत र साधनको परिचालन गरी यहाँको शैक्षिक गुणस्तर वृद्धि गर्ने कुरामा लागेका छौं । नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि हामी विशेष कार्यक्रमहरु ल्याएका छौं । विद्यालयको स्तरोन्नति स–साना कुराबाट हामी सुरु गर्नेछौं । विद्यालयमा पूर्वाधारको विकास गरिनेछ । विद्यार्थीलाई भर्ना गर्नु अगावै अभिभावकले अनुभूति गर्नेगरी विद्यालयको स्तरोन्नति गर्नेछौं । पूर्वाधार, सरसफाइ तथा स्वच्छ वातावरणको तय गरिनेछ । विद्यार्थीका लागि आवश्यक खेल मैदानको व्यवस्था गरिनेछ । प्रभावकारी शिक्षण सिकाइका लागि प्रविधिको प्रयोग र बालबालिकासँग गरिने अन्तक्र्रिया बारेमा विशेषज्ञमार्फत शिक्षकका लागि आवश्यक तालिमको व्यवस्था गर्नेछौँ । यसले शिक्षक र विद्यार्थी बीचको सम्बन्धलाई गाढा बनाउनेछ । बालबालिकालाई घरदेखि विद्यालय जाउँजाउँ लाग्ने वातावरणको निर्माण गर्नेछौँ ।

स्वास्थ्य क्षेत्रमा योजना के छन् ?
– तानसेनमा युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज र पाल्पा अस्पतालले विगतदेखि सेवा दिदै आएका छन् । तर यि स्वास्थ्य संस्थाहरुले समय अनुसार सेवा दिन भने सकिरहेका छैनन् । हामी यिनीहरुको सेवा विस्तारका लागि सहयोगी भूमिका निर्वाह गर्न चाहन्छौं । स्वास्थ्य सेवा नागरिकको नैसर्गिक अधिकार हो । त्यसका लागि यी स्वास्थ्य संस्थामा मात्र हामी सिमिति हुनु हुँदैन । हामीले नगरका भित्र रहेका सबै स्वास्थ्यचौकीहरुलाई सुविधा सम्पन्न, गुणस्तरीय सेवा प्रदान गर्ने गरी व्यवस्था गदैछौं । स्वास्थ्य चौकीहरुमा चिकित्सक, नर्स र प्रयोगशाला राख्छौँ । त्यहाँबाट रक्तचाप, मधुमेहको सामान्य परीक्षण गर्न सक्ने पूर्वाधार निर्माण गर्छौं । कम्तीमा छ महिनामा एकपटक निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाउछौँ । यसले ठूलो रोग लाग्नभन्दा अगाडि नै थाहा पाउन सकिन्छ ।

अव्यवस्थित पार्किङ्गलाई कसरी समाधान गर्नु हुन्छ ?
– हो, तानसेन आफैमा सांघुरो छ । यहाँका सडकहरु अत्यन्त साँघुरा भएकै कारण ट्राफिक व्यवस्थापन र पार्कि·को अत्यन्त समस्या छ । हामी यस विषयमा अत्यन्त चिन्तित पनि छौं । यहाँकको पार्किङ्ग व्यवस्थापनका लागि हामीले तानसेनका मुख्य मुख्य ठाउँहरुमा जग्गासमेत लिजमा ल्याएका छौं । जस्तो कि रेडक्रस भवन नजिकै रहेको फूलबारी, नारायणस्थान, टक्सारटोल लगायतका खाली जग्गाहरुमा पार्किङ्गका लागि जग्गा व्यवस्थापन गरिसकेका छौं । त्यस्तै मिसनमा पार्किङ्गको व्यवस्था मिलाएका छौं ।

खानेपानी समस्या कसरी समाधान गर्नुहुन्छ ?
– नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारको हो । हामी त्यसमा सचेत छौं । तर तानसेनमा विगतदेखि नै खानेपानीको समस्या छ । त्यसका लागि हामीले पहल नगरेको पनि होइन । अहिले कालिगण्डकीको पानी परिक्षणकै रुपमा रहेकाले हामी हेरिरहेका छौं । विगतदेखि यहाँको खानेपानी व्यवस्थापनको जिम्मा उपभोक्ता समिति लिदै आएको छ । तर बेला बेलामा समितिप्रति प्रश्नहरु उठ्ने गरेका छन् । हामीले खानेपानीको व्यवस्थापनमा गम्भीर बन्न उपभोक्ता समितिलाई पटक पटक आग्रह पनि गर्दै आएका छौं । अब पनि यस्तै अवस्था रहेमा स्थानीय सरकार आफैले जिम्मा लिने गरी अगाडि बढ्ने छ । जुनसुकै अवस्थामा पनि हामी तानसेनवासीलाई स्वच्छ खानेपानी दिन प्रतिवद्ध छौं ।

काम गर्न चुनौती के छन् ?
– काम गर्दै जाँदा चुनौतिहरु आउँछन् । त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरा महत्वपूर्ण हो । यहाँ जग्गा अभावका कारण व्यवस्थित र स्वच्छ शहर बनाउन चुनौति छ । यहाँका अधिकांश ग्रामीण क्षेत्रका जनता गरिबीको रेखामुनी रहेको हुँदा तिनीहरुको जीवनस्तरमा वृिद्ध गर्नु, बसाइसराइ दर उच्च रहेकाले त्यसलाई नियन्त्रण वा न्यूनिकरण गर्नु, साना तथा घरेलु उद्योगहरुको संरक्षण गर्नु जस्ता कुराहरु चुनौतीका रुपमा देखिएका छन् । यि विभिन्न चुनौतिहरु हुँदाहुदै पनि यहाँ अत्यधिक मात्रामा अवसर पनि रहेका छन् । यहाँ कृषिजन्य उत्पादन राम्रो हुने हुँदा व्यवसायिक रुपमा कृषि पेशा अपनाई आर्थिक वृद्धि गर्ने, यहाँका पर्यटकीय क्षेत्रहरुको विकास गरी प्रर्याप्त आम्दानी गर्ने, करुवा र ढाका उद्योगको उचित व्यवस्थापन र संरक्षण गरी रोजगार सिर्जना गर्न सकिने जस्ता अनगिन्ती अवसरहरु यहाँ उपलब्ध रहेका छन् ।

अन्त्यमा केही भन्नु छ कि ?
– मलाई नगरवासीले मत दिएर नेतृत्व गर्ने अवसर दिनुभएको छ । पक्कै पनि उहाँहरुको मप्रति ठूलो विश्वास छ । म त्यसलाई घट्न दिनेछैन । एक्लो प्रयासले मात्रै विकास सम्भव हुँदैन । त्यसैले पाल्पाका ९ वटै स्थानीय सरकार, प्रदेश र संघीय सरकारसँग सहकार्य गरी सामूहिक अवधारणाका आधारमा अगाडि बढ्ने छौँ । हामीले तानसेनलाई नमूना बनाउन सकेमा देशका अन्य पालिकाहरुलाई पनि प्रेरणा हुनेछ । विगतबाट पाठ सिक्दै भविष्यलाई परिणाममुखी बनाउन सबैको साथ र सहयोग प्राप्त हुने नै छ ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update