Shittalpati
‘सन्तोष चलचित्र मन्दिरमा आरामदायी र सुविधायुक्त हलको व्यवस्था गरेका छौं’

एकदशक अघिसम्म पाल्पाको एक मात्र सन्तोष चलचित्र मन्दिर परिसरमा दर्शकको भिड थामिनसक्नु हुन्थ्यो । टिकट काट्न लाइनमा बसेकाहरू आपसमा धकालाधकल गर्थे । फिल्म हेर्न नपाएर आक्रोशित भिड नियन्त्रण गर्न हल सञ्चालकलाई हम्मे हम्मे हुथ्यो । हलभित्र उभिएरै सिनेमा हेर्ने पनि कम हुँदैनथे । तर २०७२ सालतिरबाट भने दर्शकहरू क्रमशः घट्दै गए । दर्शकको उपस्थिति पातलो हुँदा कोरोना अघि नै हल बन्द हुने अवस्थामा पुगिसकेको थियो । जनतन चल्दै आएको हल कोरोना महामारीका कारण २०७६ चैतदेखि भने पूर्ण रुपमै बन्द हुन पुग्यो । तीन वर्ष पूर्ण रुपमै बन्द रहेको हल २०७९ माघ ११ गतेदेखि पुनः सञ्चालनमा आएको छ । तानसेनमा । लिगल परिवारले वि.स. २०२४ सालदेखि सञ्चालनमा ल्याएको सन्तोष चलचित्र मन्दिर पाल्पाकै एक मात्र पुरानो तथा ऐतिहासिक चलचित्र हल होे । यहाँ अहिले तीन शो सञ्चालन हुँदै आएको छ पछिल्लो समय हल सञ्चालनको अवस्था, चुनौती र दर्शकहरुको उपस्थितिका विषयमा केन्द्रित रहेर नवजनचेतना राष्ट्रिय दैनिकका लागि संगीता आचार्यले हल सञ्चालक सर्जुमान लिगलसँग गरेको कुराकानीको सम्पादित अंश ।

अहिले चलचित्र हलको अवस्था कस्तो छ ?
-लामो समयको कोरोना महामारीका कारण हाम्रो हल मात्र होइन देशैभरका चलचित्र हलहरु संकटमा परे । अहिले सहज भए पनि राम्रोसँग हल चल्न सकेका छैनन् । एकातिर कोरोनाको असर अर्कोतर्फ सूचना प्रविधिको प्रयोगका कारण दर्शकहरुको उपस्थिति अत्यन्त न्यूून हुने गरेको छ । पहिले भन्दा कम नै दर्शकहरु आउने गरेका छन् । पहिले युवा युवतीहरु जोडी बनेर हेर्न आउन्थे । अहिले त्यस्तो छैन । पहिले सिनेमाहलमा चलचित्र लाग्दा हेर्ने दर्शकहरुको भिड लाग्थ्यो । धरै जसो दर्शकहरुले युटुव,फेसबुक मै हेर्ने गर्छन् ।

कोरोना अवधिभर हल अस्तव्यस्त बन्यो, अहिले कसरी व्यवस्थापन गर्नु भएको छ ?
- हो, यहाँले भने जस्तै कोरोनाको समयमा हामी हल सञ्चालन गर्न सकेनौं । सरकारले नै लकडाउन गरेका कारण हामी हललाई गोदामका रुपमा प्रयोगमा ल्यायौं । पछि समय सहज बन्दै गएपछि हामीले पुनः व्यवस्थित ढंगले हल सञ्चालनमा ल्याएका छौं । पहिलेकै अवस्थामा चल्ने देखिएन । हलमा दर्शक तान्न केही आरामदायी र सुविधायुक्त चाहिने भयो । त्यसैले केही लगानी गरेर स्तरोन्नति गरेका छौं । हलका सिटहरू परिवर्तन, साउण्ड सिस्टम स्तरीय, स्क्रिन परिवर्तन लगायतका कामहरु गरिएको छ ।

विगत र अहिले दर्शकहरुको उपस्थिति कस्तो पाउनुभएको छ  ?
-विगतका दिनहरुमा चलचित्र हेर्न भनेपछि सबै हुरुक्कै हुन्थे । पाल्पामा एक मात्र सन्तोष चलचित्र हल थियो । सबै दर्शकहरु हलमै हेर्नको लागि भिड लाग्ने गथ्यो भने अहिलेको इन्टरनेटको जमाना भएकै कारण त्यस्तो छैन ।

किन दर्शकहरुको आकर्षण घट्दै गएको होला  ?
-सिनेमा हलमा लाग्ने चलचित्र युटुव,फेसबुकबाट घरमै बसेर हेर्न पाइने भएकाले  दर्शकहरु घट्दै गएको हाम्रो ठहर छ ।

दैनिक कति शो सञ्चालनमा छ  ?
-हामीले अहिले दैनिक ३ शो सञ्चालनमा ल्याएका छौं । दर्शकहरुको मागका आधारमा विहान ११ः३०, दिउँसो २ः३० र साझ ५ः३० मा शो सञ्चालन भइरहेको छ ।  

हल सञ्चालनका चुनौतिहरु के के छन् ?
-अहिले हल सञ्चालनका थुप्रै चुनौतीहरु रहेका छन् । आधुनिक प्रविधिका कारण हलहरु सञ्चालनमा कठिनाई छ । हामीले दर्शकहरुको रोजाई अनुसार हल व्यवस्थापन गर्न चुनौति छ । एकातिर व्यवसाय घट्दै जाने र अर्कोतर्फ हललाई आधुनिक ढंगले सञ्चालन गर्नु हाम्रो लागि चुनौतिको विषय हो । 

सरकारले के गर्दिए हुन्थो जस्तो लाग्छ ?
-हो सरकारले चलचित्र उद्योगमा लगानीमैत्री वातावरण सिर्जनाका लागि सोही अनुसारको नीति तथा कार्यक्रम बनाइदिनु पर्छ । अहिले संकटमा रहेका हलहरुलाई थप प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन सके केही हदसम्म भए पनि हल सञ्चालनमा राहत हुने थियो ।

हल सञ्चालनमा अहिलेसम्म कति लगानी गर्नुभएको छ ?
-हालसम्म हल सञ्चालनमा १ करोड २५ लाख माथि लगानी भएको छ । वर्तमान अवस्था र दर्शकहरुको मागलाई ध्यानमा राखेर सन्तोष चलचित्रले आफुलाई अहिले अगाडि बढाएको छ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
-सम्पूर्ण दर्शकहरुलाई सन्तोष चलचित्र हललाई माया गरिदिन आग्रह गर्दछु । हामी तपाईहरुलाई आधुनिक प्रविधिमार्फत सेवा दिने प्रयास गर्ने छौं । अहिले हामीले आरामदायी र सुविधायुक्त हलको व्यवस्था गरेका छौं ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update