मानवीय जीवन सधैँ सङ्कट र त्रासमै गुज्रिरहेको हुन्छ । भूकम्पीय जोखिम, वर्षामा बाढीपहिरोको त्रास, हिउँदमा सुक्खा र खडेरीको त्राससँगै आगलागीबाट हुने अकल्पनीय जनधनको क्षतिका कारण बाह्रै महिना असुरक्षित अनुभव गर्दै जीवनयापन गर्नु बाध्यता नेपालीको छ । एकाएक आइपर्ने प्राकृतिक विपत्तिलाई टारौँ भनेर टार्न सकिन्न तर बेलैमा सावधानी अपनाइयो भने क्षति न्यूनीकरण गर्न भने अवश्य सकिन्छ । विपत् जुनसुकै बेला पनि आउन सक्ने आकलनसहित योजनाबद्ध रूपमा सधैँ तम्तयार रहन आवश्यक देखिन्छ । अझ यस वर्ष नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । जेठ १८ देखि असोज १४ सम्म रहने मनसुनमा अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको छ । यो केवल मौसमसम्बन्धी तथ्य मात्र होइन, नेपालको कृषि, ऊर्जा, खानेपानी, स्वास्थ्य र समग्र अर्थतन्त्रसँग जोडिएको चेतावनी समेत हो ।
विशेष गरी कर्णाली, लुम्बिनी, मधेस र कोशी प्रदेशका धेरै भूभागमा कम वर्षाको सम्भावना उच्च देखिनुले आगामी कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने संकेत गरेको छ । नेपालमा अझै पनि ठूलो जनसंख्या आकाशे पानीमा आधारित खेती प्रणालीमा निर्भर छ । धान रोपाइँको समयमा पर्याप्त वर्षा नहुँदा उत्पादन घट्ने, खाद्यान्न आयात बढ्ने र ग्रामीण अर्थतन्त्रमा दबाब सिर्जना हुने जोखिम स्वाभाविक रूपमा बढ्छ ।कम वर्षा हुनु भनेको केवल खेती प्रभावित हुनु मात्र होइन, जलाशय सुक्ने, सिंचाइ प्रणाली कमजोर हुने, वन डढेलोको जोखिम बढ्ने र नदीको बहाव घट्दा जलविद्युत् उत्पादनमा असर पर्ने अवस्था पनि हो । यस्तो अवस्थामा समयमै तयारी नगर्ने हो भने भोलिको क्षति नियन्त्रण बाहिर जान सक्छ । त्यसैले अब सरकार, निजी क्षेत्र र नागरिक सबैले मिलेर मनसुनजन्य विपद्को तयारी आजैबाट सुरु गर्नुपर्नेछ । समयमै गरिने तयारीले मात्रै विपद्बाट हुने जोखिम र क्षतिलाई पूर्णरूपमा रोक्न नसके पनि त्यसबाट हुने क्षति अवश्य घटाउन सक्छ । विगतमा देखिएका विपत् आइपरेपछि मात्र चासो देखाउने तर बेलैमा सचेतना, सावधानी तथा सुरक्षाका उपाय अवलम्बन नगरिने प्रवृत्ति अन्त्य गरी क्षति हुनबाट जोगाउन सबै पक्षले सतर्कता अपनाउन वाञ्छनीय देखिन्छ ।

