Shittalpati
‘होटल पौवामा आउने पाहुनालाई नेपालीपनको झल्को दिन्छौं’

पाल्पा घुम्ने बाह्य र आन्तरिक पर्यटकको पहिलो रोजाई तानसेन हो । तानसेन आउने पर्यटकलाई परम्परागत नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पौवाले तानसेनलाई आफ्नो रोजाइमा पारेको छ । हस्पिटालिटीको क्षेत्रमा भिन्न पहिचान बनाउन सफल पौवा ग्रुपले पर्यटकीय स्थलहरुलाई मध्यनजर गरी होटल सञ्चालनमा ल्याएको हो । देशका विभिन्न १४ वटा शाखाहरुबाट सेवा दिंदै आएको पौवाले ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने नारालाई आत्मसाथ गर्दै आएको छ । होटलले दिर्दै आएको सेवा र कोभिडले होटल व्यवसायमा पारेको प्रभावका विषयमा केन्द्रीत रहेर होटलका प्रबन्ध निर्देशक यदुप्रसाद भट्टराईसँग शित्तलपाटीका बविता राना र लक्ष्मी तामाङले गरेको कुराकानीको सम्पादित अंश :

अहिले व्यवसाय कस्तो चल्दै छ ?
–  कोरोना महामारीले नेपालको समग्र पर्यटन उद्योगलाई नराम्ररी प्रभावित बनायो । त्यसमा पनि होटल व्यवसाय झन् बढी मारमा पर्‍यो । कोभिड पछिको समयलाई हेर्ने हो भने व्यवसायी त्यत्ति सन्तोषजनक छैन । पाल्पामा आन्तरिक तथा बाÞय पर्यटकहरुलाई भिर्याउन नसक्दा यहाँका होटलहरु राम्रोसँग चल्न सकेका छैनन् ।

व्यवसाय गर्न थालेको कति भयो ?
–  होटल पौवाले व्यवसाय सञ्चालन गरेको ७ बर्ष पुग्यो । अहिले देशभर १४ वटा शाखाहरुबाट हामी सेवा दिर्दै आएका छौं । पछिल्लो समय तानसेनबाट समेत सेवा दिर्दै आएका छौं ।

पाहुनाहरुका लागि कस्तो सेवा दिर्दै आउनु भएको छ ?
– पौवाले दिने आतिथ्य पाल्पामा आउने पर्यटकका लागि अविस्मरणीय हुने गरेको छ । सबै पाहुनाहरूलाई पुनः पौवामै आउने, पौवामै बस्ने, पौवामै कार्यक्रम गर्ने बनाउन हामीले मन, वचन र कर्मले इमानदारीपूर्वक सेवा सत्कार दिइरहेका छौं । अधिकांश होटलमा पश्चिमा, इन्डियन र चाइनिज हस्पिटालिटीको करिब–करिब वर्चश्व रहेको छ । तर हाम्रोमा आउनुहुने ग्राहकले आतिथ्यतादेखि खानपान बसाइ र वातावरणमा समेत नेपालीपनको झल्को पाउनुहुन्छ । हामीले इन्डियन र चाइनिज हस्पिटालिटीसँगै नेपाली खानाका परिकारहरु मकै, कोदो, फापर लगायतका रोटी, ढेडोका परिकारहरु बनाउने गर्छौं ।  कर्मचारीहरुले समेत दौरा सुरुवा, आसकोट, भादगाउँले टोपीमा सजिएर पाहुनाहरुलाई सेवा दिने गरेका छौं ।

होटल सञ्चालन गर्न के कस्ता समस्या छन् ?
– होटलमा लगानी गर्नु अझै पनि चुनौतीपूर्ण छ, तर हामी यो चुनौतीलाई अवसरमा रूपान्तरण गर्नका लागि होटल पौवाको विस्तार गर्दै आएका छौं । आन्तरिक पर्यटक र बाह्य पर्यटकको सही संयोजन गर्न सके होटल व्यवसाय सञ्चालन गर्न सकिन्छ । तर पर्यटक भिर्याउने योजना कही कतै छैन जसले गर्दा ठूला लगानीका होटलहरु सञ्चालनमा समस्या भएको छ । अब होटल सञ्चालन गर्दा कसरी गर्ने भन्ने मोडालिटी बनाउन आवश्यक छ । होटलले सानादेखी ठूला ग्राकहरुलाई समेत होटलमा सुविधा लिन सक्ने खालको वातावरण बनाउनुपर्दछ भन्ने मलाई लाग्दछ ।

तानसेनमा पर्यटक तान्न सकेनौ नि ?
– हो, पाल्पा पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । यहाँका थुप्रै धार्मिक, ऐतिहासिक, पर्यटकीय स्थलहरु छन् तर तिनीहरुको उचित प्रचार–प्रसार गर्न सकिएको छैन । यसतर्फ स्थानीय सरकार र निजी क्षेत्रले विशेष ध्यान दिन आवश्यक छ ।

कोभिड पछि व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आएको छ, यहाँको भनाई के छ ?
–  यो सत्य हो । कोभिड पछि व्यवसाय धरासय बनेको छ । आर्थिक मन्दीका कारण अहिले कसैसँग पैसा छैन् । मानिससँग पैसा नभएपछि होटल व्यवसाय मात्रै हैन कुनै पनि व्वसाययीहरु चल्न सकेका छैनन् । जसले गर्दा व्यवसायीहरु पलायन हुन परेको यथार्थ हो । 

सरकारको सहयोग छ त ?
–  सरकारबाट त्यस्तो सहयोग केहि छैन् ।

अन्त्यमा केही भन्नु छ ?
–  यहाँका थुप्रै पर्यटकीय स्थलहरु रहे पनि व्यवस्थापन र प्रचार–प्रसार हुन नसक्दा तानसेनको विकास हुन सकेको छैन । ऐतिहासिक पाल्पा दरबार, भ्यु टावर, भैरवस्थान, श्रीनगर, रानीमहल, माडीफाँट, जस्ता सयौ पर्यटकीय क्षेत्रहरू र यहाँका जात्रा पर्वहरुको उचित प्रचार प्रसार र व्यवस्थित गर्न सके मात्र पनि पाल्पामा दैनिक हजारौं पर्यटक भिर्याउन सकिन्छ । यसतर्फ तीनै तहका सरकारले ध्यान दिन जरुरी छ । धन्यवाद !

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update