गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा डढेलो लाग्ने जोखिम बढ्ने गर्दछ । चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ । विगतका दृष्टान्तबाट पनि डढेलो कुन समयमा लाग्छ र कहाँ–कहाँ बढी प्रभाव पार्छ भन्ने अनुमान गर्न सहज भएको छ । नेपालमा हरेक वर्ष मध्य फागुनदेखि मध्य वैशाखसम्म डढेलो लाग्छ । त्यसमा पनि चैत १५ को आसपास यसको जोखिम ७४ प्रतिशत र मध्य वैशाखमा ५१ प्रतिशतसम्मले बढ्छ । खासगरी सुकेका पतिङ्गर बढी रहेको, सुक्खा क्षेत्रमा बढी डढेलो लाग्छ । हिउँदमा रूखबाट पात झर्ने र पतिङ्गर जम्मा हुने भएकाले त्यस लगत्तैको समयमा डढेलोको जोखिम बढी हुने गरेको हो । यतिका संकेत पाउँदापाउँदै हामीकहाँ प्रतिकार्यको कमजोर तयारीले गर्दा हरेक वर्ष डढेलोले जनधनको क्षति गरिरहेकै छ ।
डढेलो लाग्नुमा मानिस आफैँ पनि जिम्मेवार छ । कतिपय क्षेत्रमा घाँस बाक्लो पलाउँछ भनेर समुदायले नै वनमा डढेलो लगाउने, वस्तुभाउ चरिचरणका निम्ति र वनभोज खान वनक्षेत्रमा जाने र सोही अवस्थामा मानिसले हेलचेक्राइँ गर्नाले बढी मात्रामा डढेलो र आगलागीका घटना हुने गरेका छन् । त्यसैले यस्ता सम्भावित घटना हुन नदिन समग्रमा प्रयास हुन आवश्यक छ । मानिसले आफूलाई नसुधारेसम्म स्थिति झनझन बिग्रिँदै जानेछ । वर्षेनी हुने यस्ता विपत्तिबाट पाठ नसिक्नु, पर्याप्त पूर्व तयारी नगर्नु, विपद् सामना गर्न सरकारी संयन्त्र तयारी अवस्थामा नरहनु विडम्बना हो । जनमानसमा चेतना भएर मात्रै पुग्दैन, उनीहरू यसप्रति संवदेनशील पनि बन्नुपर्छ । जङ्गलमा लाग्ने डढेलोका हकमा भने स्थानीय समुदाय नै बढी जागरुक हुनुपर्छ । सकेसम्म आगो लाग्नै नदिनेतर्फ जोड दिइनुपर्छ । अहिले देशका केही जिल्लाहरुमा डढेलो लागिरहेको छ । तर अहिलेसम्म प्रभावकारी तयारी थालिएको पाइँदैन । डढेलोबाट बर्सेनि क्षति भइरहँदा पनि सरकारले यसको नियन्त्रणमा खटिने गरी छुट्टै युनिट तयार नगर्नु ठूलो कमजोरी हो । अर्कातिर, सरोकारवाला निकायहरू उत्तरदायी देखिंदैनन् । हरेक वर्ष मनसुनजन्य विपद्को प्रतिकार्य योजना बन्छ, तर डढेलो प्राथमिकतामै पर्दैन । डढेलो व्यवस्थापनप्रति तीनै तहकार सरकार कतिसम्म उदासीन छन् भने अहिलेसम्म यसको नियन्त्रणका लागि कति रकम आवश्यक पर्छ भन्ने यकीन समेत गरेका छैन । जसले गर्दा हरेक वर्ष डढेलोका कारण ठूलो मानविय तथा भौतिक क्षति हुने गरेको छ । तसर्थ अब डढेलो लाग्न नदिनका लागि सम्बन्धित निकायले पूर्व तयारी गर्नेतर्फ ध्यान दिन जरुरी छ ।

