पछिल्लो समय बजारमा उपलब्ध तरकारी तथा फलफूलमा अत्यधिक मात्रामा विषादी प्रयोग हुने गरेको पाइएको छ । व्यापारका नाममा जनस्वास्थ्यको ख्याल नगरी जथाभावी रुपमा तरकारीमा विषादी राख्ने गरिएको छ । अहिले बजारमा आउने हरेक किसिमका तरकारीहरुमा विषादी भए पनि त्यसको परीक्षण भने हुन सकेको छैन । अहिले पाल्पासहित धेरै जिल्लाका बजारहरुमा साँझा औषधि राखेर विहानै टिपेर तरकारी बजार ल्याउने गरिएको छ । केही दिन अघि बुटवलमा बिक्रीका लागि चितवनबाट ल्याइएको तरकारीमा अत्यधिक मात्रामा विषादी फेला परेको पाइएको छ । त्यति मात्रध हैन दूधमा समेत विषादी भेटिएको छ । जुन चिन्ताको विषय हो । उत्पादन बढाउने र कीराको प्रकोप नियन्त्रण गर्ने नाममा प्रयोग गरिने विषादीको अवशेष तरकारीमा बाँकी रहँदा यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । त्यसैले विषादीयुक्त तरकारीको उपभोगबारे सबै नागरिक सचेत हुन आवश्यक छ । विषादीको अत्यधिक प्रयोगले शरीरमा विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
दीर्घकालीन रूपमा यस्ता रसायनको प्रभावले क्यान्सर, स्नायु प्रणालीसम्बन्धी समस्या, हार्मोन असन्तुलन तथा अन्य जटिल रोगको जोखिम बढाउन सक्छ । यसकारण उपभोक्ताले तरकारी खरिद र प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ ।तरकारीलाई प्रयोग गर्नुअघि सफा पानीले राम्ररी धुने, केही समय पानीमा भिजाएर राख्ने तथा सम्भव भएसम्म बोक्रा हटाएर प्रयोग गर्ने बानीले विषादीको मात्रा केही हदसम्म कम गर्न मद्दत गर्छ । साथै, स्थानीय तथा प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिनु पनि सुरक्षित विकल्प हुन सक्छ । यस विषयमा केवल उपभोक्ता मात्र होइन, किसान, व्यापारी र सम्बन्धित सरकारी निकाय पनि उत्तिकै जिम्मेवार हुनुपर्छ । किसानलाई सुरक्षित र सन्तुलित विषादी प्रयोगबारे तालिम दिनु, बजारमा नियमित अनुगमन गर्नु तथा गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो । स्वस्थ जीवनका लागि सुरक्षित खाद्य वस्तुको उपभोग अपरिहार्य छ । त्यसैले विषादीयुक्त तरकारीको जोखिमप्रति सबै पक्ष सचेत बन्दै उत्पादनदेखि उपभोगसम्म जिम्मेवार व्यवहार अपनाउन जरुरी छ ।

