Shittalpati
स्ववियु चुनाव चैत ५ मा गर्न सिफारिस

पाल्पा, लामो समयदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न सिफारिस गरिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ मा स्ववियुको चुनाव गर्न कार्यकारी परिषद्मा सिफारिस गरेको हो ।

प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले पनि स्ववियु निर्वाचन गर्नका लागि निर्देशन दिइसकेका छन् । कार्यकारीले अनुमोदन गरेपछि चैत ५ गते स्ववियु चुनावको मिति घोषणा हुनेछ । त्रिविका क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन सकेको छैन । विसं २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । स्ववियु निर्वाचनमा २८ वर्ष उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ । पछिल्लो पटक उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ सालमा आंशिकरुपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update