Shittalpati
स्वतन्त्र प्रदेश सांसद माओवादी प्रवेश

पाल्पा, लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद दिपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । प्रदेश सरकार गठनको संघारमै आएर उनी माओवादी प्रवेश गरेका हुन् । यस अघि माओवादीबाटै टिकट नपाएर रोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) बाट स्वतन्त्र उठेर निर्वाचन जितेका पुनमगर बुधबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका हुन् । पुनमगरले माओवादी अध्यक्ष दाहाललाई आत्मालोचना पत्र बुझाएर पुनः पार्टी प्रवेश गरेको स्रोतले जनाएको छ ।

माओवादीले रोल्पा (२)बाट तत्कालीन चुनावी गठबन्धनबाट कांग्रेसमा अमरसिंह पुनलाई उम्मेदवार बनाएको थियो । जसको विरुद्धमा माओवादीका तत्कालीन पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएर पुनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी स्वतन्त्र उम्मेदवार बनेपछि माओवादीले पार्टीबाट निष्कासन गरेको थियो ।

मंसिर ४ गते भएको निर्वाचनमा पुनमगरले १४ हजार ९ सय २७ मत प्राप्त गरेर प्रदेसभा सदस्यमा निर्वाचित भएका थिए । काँग्रेसका अमरसिंहले १० हजार ४ सय ६ मत प्राप्त गरेका थिए । दिपेन्द्रकुमारले ४ हजार ५ सय २१ मतको अन्तरले अमरसिंहलाई पराजित गरेका थिए ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update