Shittalpati
आइसोलेसनमा मृत्यु भएको ११ दिनपछि थापाको शव उठ्यो

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका–५ कुसुमखोलाका ३४ वर्षीय बाबुराम थापाको ११ औं दिनपछि शव उठेको छ । चैत १६ गते बुटवलको कोरोना अस्थायी अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा मृत्यु भएका थापाको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि परिवारले बुधबार शव उठाएका हुन् । उपचारमा लापरबाही भएको भन्दै परिवारले क्षतिपूर्ति माग गरेका थिए । जनप्रतिनिधि, मानवअधिकारकर्मी, विभिन्न सामाजिक संघसंस्थाहरुको पहलमा आफन्त र परिवार शव बुझ्न सहमत भएका हुन् । प्रदेश सरकारको आग्रहमा मृतककी श्रीमतीलाई स्थानीय तहमा जागिर दिलाउने र दुई छोरालाई कक्षा १२ सम्म निःशुल्क पढाउने सहमति भएको थियो । कोरोनाको आशंकामा उपचार सुरु गरिए पनि परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । आफन्तमा कोरोनाकै कारण मृत्यु भएको भन्ने त्रास फैलिएपछि मृत्युको ११ दिनसम्म पनि शव उठ्न सकेको थिएन ।

रुपन्देहीको सैनामैना नगरपालिका ७ मा श्रीमती र दुई छोरासहित डेरा गरी बस्दै आएका थापा चैत ६ गते विदेशबाट आएका थिए । उनमा ज्वरो र खोकीको लक्षण देखिएपछि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा राखिएको थियो । उनका आमा र दाजु गाउँमै बस्दै आएका छन् । स्वास फेर्न गाह्रो भएपछि परिवारले १३ गते अस्पताल लगेका थिए । उनको कोरोना संक्रमणको परीक्षणको लागि स्वाब संकलन गरेर काठमाडौं पठाइए पनि दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।

 

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update