Shittalpati
लुम्बिनीमा एमाले संसदीय दलको नेतामा गिरी

रुपन्देही, नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन् । दाङको देउखुरीमा आइतबार बसेको प्रदेशसभा सदस्यहरुको भेलाले रुपन्देही क्षेत्र न २(१) बाट निर्वाचित गिरीलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

दलको उपनेतामा अर्घाखाँचीका चेतनारायण आचार्य चयन भएका छन् । उनी अर्घाखाँचीको १ (२)बाट निर्वाचित भएका थिए । गिरी यसअघि प्रदेश सरकारमा वन, वातावरण तथा उद्योगमन्त्री र आचार्य आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । भेलाले केन्द्रीय तहको शीर्ष नेतृत्वको सहमतिलाई अनुमोदन गर्दै नेता र उपनेता चयन गरेको जनाइएको छ । अब एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् । महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने बताउँदै आएका छन् । यद्यपी नयाँ समीकरण अनुसार गठबन्धनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसले लिने भन्ने अझै सहमति जुटेको छैन । मुख्यमन्त्रीमा एमाले र माओवादी दुवैले दाबी गर्दै आएका छन् । यहाँ एमालेका २९ र माओवादी केन्द्रका ९ सदस्य रहेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update