Shittalpati
भेदभाव र अपमान नगर

अहिले कोरोनाले महामारीको रुप लिएको छ । जति नेपाली नागरिकमा कोरोना संक्रमण भएको छ, सबै विदेशबाट फर्किएकाहरुमा नै देखिएको छ । जहाँ कोरोनाले इपिसेन्टर बनायो, त्यो क्षेत्रबाट फर्किएकाहरुमा संक्रमण भएको देखिएको छ । विदेशबाट आएकाहरुको ज्वरो परीक्षण गरिन्छ । ज्वरो ‘कोभिड १९’ को कारणले मात्र आउँदैन । ज्वरो आउने विभिन्न कारणहरु हुन्छन् । यस्तो बेला ज्वरो आउने बित्तिकै कतै कोरोनाकै लक्षण पो हो कि भनेर सतर्कता चाहिँ अपनाउन जरुरी छ । कोभिड १९ भाइरसले शरीरमा प्रवेश गरेको १४ दिनसम्म लक्षण देखाउन सक्ने भएकाले शंका गरिएका व्यक्तिलाई १४ दिनसम्म अलग्गै राखिनुपर्ने हुन्छ ।

खासगरी विदेशबाट आएकाहरुले कम्तिमा पनि १४ दिन अलग बस्नैपर्छ । यस्तोमा हामीले तर्सिनु हुँदैन । जस्तो दुश्मनसँग तर्सिएर हामी भाग्यौं भने हामी स्वतः हार्छौ । त्यही भएर डराउनु हँुदैन । बरु जोगिएर बस्ने हो । अहिले विदेशबाट आएकाहरुको घरमा रातो झण्डा पनि गाडेका समाचारहरु आएका छन् । यो हामीहरु डराएका कारण हो । यो एकदमै गलत कुरा हो । बेलाबेलामा यस्ता संकट आएको बेलामा चलखेल गर्ने, अनावश्यक फाइदा लिने तत्वहरु निकै सक्रिय भएका हुन्छन् । यस्तोबेला हामी सबै नेपाली हौँ, हामीमा कुनै विभेद छैन, हामी सबैको शत्रु भनेको कोरोना नै हो यसर्थ सबै मिलेर कोरोनासँग लडौँ भन्ने मानसिकता बनाउन जरुरी छ । तर विदेशबाट फर्किएका नागरिक अहिले कोरोनाभन्दा डरलाग्दो सामाजिक घृणाको महामारीको चपेटामा पर्न थालेका छन् ।

विदेशबाट फर्केका नागरिकसँगै उनीहरुको परिवार समेत भेदभावको सिकार हुन थालेका छन् । यस्ता अमानवीय कर्मलाई कतिप व्यक्तिहरुले उक्साएको कारण गाउँ गाउँमा कोरोनाका नाममा एक घरले अर्को घरलाई घृणा गर्ने अवस्था सिर्जना भएको छ । सामान्य रुघाखोकी लाग्दैमा र ज्वरो आउँदैमा महामारी भई हाल्दैन । अनि संक्रमण हुँदैमा ज्यान जान्छ भन्ने पनि सत्य होइन । नेपालमै पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किसकेका छन् । उनी पनि विदेशबाट फर्किएका थिए । त्यसैले विदेशबाट फर्किएका सबै संक्रमित हुँदैनन्, संक्रमित भइहाले भने पनि निको हुन्छ । तसर्थ विदेशबाट आएका नागरिकहरुलाई भेदभाव र अपमान होइन बरु स्वास्थ्य परीक्षणका लागि आवश्यक वातावरण सिर्जना गरौं ।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update