Shittalpati
पाँच दशकपछि ‘जग्गाधनी’

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पाको रामपुर नगरपालिका किसानबारीका ६६ वर्षीय श्यामप्रसाद उपाध्यायले जग्गाधनी प्रमाणपूर्जाको पर्खाइमा जीवनका तीन दशक बिताए । अव्यवस्थित बसोवासी भए पनि भोग चलन गर्दै गरेको जग्गामा घर बनाए थिए । तर, त्यसरी जीवन चलाउँदा अनेक बाधा थिए । ३१ वर्षपछि उपाध्यायले आफुले प्रयोग गर्दै आएको चार आना जग्गाको लाजपूर्जा पाए । श्रीमति सीता देवी पोखरेलको नाममा लालपूर्जा पाएपछि उनको खुसी थामिसक्नु थिएन ।

किसानबारीमा २०४८ सालबाट बसोबास गर्दै आएका उपाध्याय बल्ल जग्गा धनी भएका छन् । ३१ वर्षपछि जग्गाधनी बन्दा उनको र श्रीमति सीताको आँखामा आशु थामिएन । उपाध्यायले एनजेडीसँग कुरा गर्दै भने ‘अब त हामी पनि जग्गा धनी भयौँ । सुकुम्बासी भनेर कसैले हेप्न पाएन’, उनी भक्कानिए, ‘अहिलेसम्म दुःख गरेर बसियो । जीवनको उत्तर्राधमा आएर बल्ल लालपूर्जा पाइयो यो त ठूलो हतियार भयो नि ¤’ किसानबारीकै ६९ वर्षीय देवेन्द्रप्रसाद पोखरेल पनि अहिले जग्गा धनी पूर्जा पाएपछि खुसी छन् । उनले तत्कालिन गाउँ पञ्चायतले विक्री गरेको जग्गामा बसोबास गर्दै आएका थिए । तर उनीसँग जग्गाको कुुनै प्रमाण थिएन । जग्गा धनी पूर्जा नहुँदा सुकुम्बासी नै भएर जीवन बिताउनुपर्छ कि भन्ने चिन्तामा रहेका पोखरेल ४ दशकपछि लालपूर्जा पाएपछि भने खुसी छन् । ‘अत्यन्त खुसी छुु । मर्ने बेलामा जग्गा धनी भएँ’, उनी भन्छन्, ‘यत्रो वर्ष धनीपूर्जा नपाउँदा अब त पाइँदैन भन्ने नै लागेको थियो ।’ रामपुर बेझाडका चिरञ्जीवी सिक्देलले पनि ५० वर्षपछि लाजपूर्जा पाउँदाको खुसी एनजेडीसँग पोखे । प्रमाण नभएको जग्गामा बस्दै आएका उनले अनेक समस्या भोग्नुप¥यो । उनी भन्छन्, ‘हातमा लालपूर्जा थिएन । कति डर थियो, अब त हातमा लालपूर्जा छ । संसार जीते जस्तो भएको छ ।’ उनीहरु जस्तै यहाँका १ सय ६० जना अव्यवस्थित बसोवासीले अहिले जग्गाको लालपूर्जा पाएका छन् ।

रामपुरमा ७ सय ८३ घर अव्यवस्थित रुपमा रहेका छन् । जसमध्ये १ सय ६० जनाले पहिलो चरणमा लाल पूर्जा पाएका हुन् । तत्कालीन गाउँ पञ्चायत, वडा तथा विद्यालयहरुले विक्री गरेको जग्गामा बसोबास गर्दै आएका यहाँका जग्गाधनीहरुले ५० वर्ष पछि जग्गा धनी प्रमाण पूर्जा प्राप्त गरेका छन् । २०२८/०२९ साल देखि रसिदमा जग्गा किनेर भोगचलन गर्दै आएका अव्यवस्थित जग्गाधनीहरुलाई राष्ट्रिय भूमि आयोगले शुक्रबार जग्गा धनी पूर्जा प्रदान गरेको हो । २०५५ साल सम्ममा विक्री वितरण भएका रामपुर नगरपालिका ५, ६ र ७ का ७ सय ८३ वटा घडेरीलाई अहिले लालपूर्जा वितरण गर्न थालिएको छ । शनिबार सम्म सम्पूर्ण प्रक्रिया पुरा गरेका १ सय ६० जनालाई लाल पूर्जा बाँडिएको राष्ट्रिय भूमि आयोग पाल्पा सर्वेक्षक विकास पौडेलले बताए । बाँकीको पनि नियमित प्रक्रियामा रहेको उनले बताए । राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुर नगरपालिकाको समन्वयमा पूर्जा वितरण गरिरहेको छ । वितरणको पहिलो दिन राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले रापुरमा आयोजित कार्यक्रममा लालपूर्जा बाँडेका हुन् । उनले अव्यवस्थित बसोवासीलाई लालपूर्जा दिर्दै भनेका थिए ‘भुगोल पनि हो जमिन पनि हो तर आफुले टेकेको जमिन आफ्नो थिएन । तर आजदेखि त्यसको अन्त्य भएको छ ।’ लामो समयसम्म समस्याका रुपमा रहेको अव्यवस्थित घरघडेरीलाई जग्गाधनी पुर्जा दिलाउन सफल भएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए । प्रक्रियामा रहेका सबैलाई जग्गाधनी पुर्जा उपलब्ध गराइने गरी काम अगाडि बढेको उनले बताए । राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहन लाल गैरेले पहिलो चरणमा ३ सय ७७ वटाको राजस्व तिर्ने प्रक्रियामा पुगे पनि ३ सय १ वटाको सर्जिमिन भएको बताए । उनले प्रक्रिया पुरा भएका सबैको क्रमश वितरण हुने समेत बताए । यहाँ गाउँ पञ्चायत, वडा तथा विद्यालयले बिक्री गरेका जग्गाहरु ५० वर्ष देखि स्थानीयवासीले रसिदको भरमा भोगचलन गर्दै आइरहेका थिए ।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update