Shittalpati
पुस्तक व्यवसायी महासंघ पाल्पाले मनायो साधारण सभा

पाल्पा, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाले १३ औं वार्षिक साधारण सभा मनाएको छ । महासंघले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी साधारण सभा मनाएको हो । साधारण सभाको महासंघका केन्द्रीय सदस्य कमलराज तिमिल्सिनाले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका तिमिल्सीनाले व्यवसायीहरुमा देखिएको समस्या समाधानमा महासंघ लागि परेको बताए । उनले पछिल्लो समय पुस्तक तथा स्टेशनरी व्यवसायी गर्नेहरुको संख्या पाल्पामा बढ्दै जानु सकरात्मक रहेको धारण व्यक्त गरे ।

तिमिल्सीनाले महासंघलाई थप मजबूूद बनाएर लैजान जिल्लाका व्यवसायीहरु एक हुनुपर्नेमा जोड दिए । उनले पुस्तक बेच्नेहरुको पेशा सम्मान योग्य रहेको समेत बताए । उनले ब्यवसायीहरु मिलेर पनि प्रतिस्पर्धा गर्न सकिने भन्दै स्वच्छ रुपमा प्रतिस्पर्धा गर्नु सबैको हित हुने धारणा व्यक्त गरे । नवर्निवाचित लुम्बिनी प्रदेश सदस्य खेमबहादुर सारुले सह–अस्तित्वलाई जोड दिदै एकले अर्काको क्षेत्रसँग सहकार्य गर्दै जानुपर्ने बताए । देश नै ब्यापार घाटाको अवस्थामा रहेकाले आन्तरिक उत्पादनलाई जोड दिन उनले महासंघलाई आग्रह गरे । बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले व्यवसायी संगठित हुनुपर्ने बताए । उनले पाल्पाका व्यवसायीहरु एक जुट भए सबै अवसर पाल्पामै आउने धारणा व्यक्त गरे ।

कार्यक्रममा प्याब्सन पाल्पाका पुर्व अध्यक्ष भरतप्रसाद न्यौपाने, महासंघका सल्लाहकार राजेन्द्र लिगल, महासंघका प्रेस सल्लाहकार मुक्तिप्रसाद न्यौपाने, तानसेन नगर कार्यपालिका सदस्य सविता भट्टराई लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा पाल्पाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, स्थानीय, तथा प्रदेशको निर्वाचनमा निर्वाचित ब्यवसायी जनप्रतिनिधी तथा पत्रकारलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित खेमबहादुर सारु, बगनासकाली गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हरिप्रसाद पाठक, तानसेन नगरपालिकाको कार्यपालिकामा निर्वाचित सविता भट्टराई र महासंघका प्रेस सल्लाहकार मुक्तिप्रसाद न्यौपानेलाई सम्मान गरिएको हो । महासंघका अध्यक्ष किशोर भट्टराईको अध्यक्षता, सह–सचिव विष्णु खनालको स्वागत, सचिव ताराबहादुर सुनारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update