Shittalpati
पाल्पाका जनप्रतिनिधि नागरिकको घर–घरमा पुगी स्वास्थ्य अवस्था बुझ्दै

कृष्ण पोखरेल
पाल्पा,सरकारले विदेशबाट आएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न स्थानीय सरकारलाई निर्देशन दिएसंगै जिल्लाका जनप्रतिनिधी घर–घरमा पुगी नागरिकको स्वास्थ्य अवस्थाका विषयमा निगरानी बढाएका छन् । नेपालमा दोस्रो चरणको कोरोनाको अवस्था लागु भएपछि विदेशबाट आएका व्यक्तिहरुलाई ३ हप्तासम्म क्वारेन्टाइनमा बस्न अनुरोध गर्नुको साथै अन्य नागरिकहरुको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका हुन् । जनप्रतिनिधी र स्वास्थ्यकर्मीको टोलीले प्रत्येक नागरिकको घर –घरमा पुगेर स्वास्थ्य सल्लाहसँगै स्वास्थ्य परीक्षण गरेका छन् ।
जिल्लाको तानसेन नगरपालिका, निस्दी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकाले घर–घर टोल टोलमा पुगी विदेशबाट आएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण देखी आवश्यक परामर्श सल्लाह दिदै आएका हुन । जिल्लामा भारतबाट १ हजार ८१ जना र अन्य तेस्रो मुलुकबाट १ सय ५० जना नागरिक भित्रिएका छन् ।
विदेशबाट आएका व्यक्तिहरु घरमा सुरक्षित कोठा नभए वडा –वडाका विद्यालय तथा सार्वजनिक भवनहरुमा क्वारेन्टाइन बनाएर राख्ने र कोरोना सम्बन्धी सचेतना बाढ्दै रैनादेवी छहरा गाउँपालिकाका वडा अध्यक्षहरु घरदैलो अभियानमा जुटेका छन् । गाउँ घरमा कोरोनाको बारेमा हेलचेक्रराइ नहोस् भनी जनप्रतिनिधीहरुले जोखिम मोलेर भएपनि घर घरमा सचेतना दिदै हिडेको रैनादेवी छहरा गाउँपालिका ३ का वडा अध्यक्ष लालबहादुर दर्लामीले बताए । यो अवस्थामा आफुहरु रहले नभई सिङ्गो गाउँ देशवासीलाई बचाउन विदेशबाट आएका व्यक्तिको घरमा आएको वडा अध्यक्ष दर्लामीले बताए ।
रैनादेवी छहरा गाउँपालिका वडा नंं ३ भुवनपोखरीमा वडा अध्यक्ष लाल बहादुर दर्लामी, वडा सदस्य सूर्य प्रसाद पौडेल, स्वास्थ्य चौकी इन्चार्ज राम प्रसाद न्यौपाने, जनमोर्चा नेपालका जिल्ला अध्यक्ष विशाल दर्लामी, पत्रकार मिलन विश्वकर्मा, ईलाका प्रहरी कार्यालय मुझुङका सुरक्षाकर्मी, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सहितको टोलीले घर घरमा पुगी स्वास्थ्य स्थिती, बसाईको अवस्था, सेल्फ क्वारेन्टाइनको अवस्थाका बारे जानकारी लिएका छन् ।
गाउँमा कुनै पनि नयाँ व्यक्ति आएमा स्वास्थ्य चौकी, वडा कार्यालयमा खवर गर्न वडा कार्यालयले अनुरोध गरेको छ । कसैको घरमा पनि पाहुना हुन नजान, घरमा आएका पाहुनाहरुलाई समेत बास बस्न नदिन जनप्रतिनिधीहरुले अनुरोध गरेका छन् । जिल्लाका विभिन्न स्थानमा सेल्फ क्वारेन्टाइनको नाममा भोज भतेर गर्ने, साथीभाई जम्मा भई रमाईलो गर्ने विकृती बढेपछी रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीले साविकको ९ वटै वडामा पुगी स्वास्थ्य सल्लाह तथा परामर्श दिदै आएको स्वास्थ्य चौकी इन्चाज रामप्रसाद न्यौपानेले बताए । भुवनपोखरीमा मात्र भारतबाट १ सय ८० जना र जापाना, कतार कोरिया मलेसियाबाट ४ जना गरी १ सय ८४ जना विदेशबाट आएका व्यक्तिहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । विदेशबाट आएका ४ जनालाई वडा कार्यालयले जोगवाणी प्राथमिक विद्यालय ढुकुरखोलामा क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा बसेको २१ दिन पुगेपछि विदेशबाट आएका व्यक्तिहरुले नजिकको जनप्रतिनिधी, स्वास्थ्य चौकीमा खवर गरी, आफ्नो र आफ्नो परिवारको स्वास्थ्य चेकजाँच गर्न अनुरोध गरेका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update