Shittalpati
तिलोत्तमा नगरमा ट्राम रेल शिलान्यास

बुटवल, रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ट्राम रेलको शिलान्यास गरिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ रेल यातायातबाट जोड्न ट्राम रेलको शिलान्यास गरिएको हो । उक्त ट्राम रेलको शुक्रबार नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शिलान्यास गरेका हुन् ।

रेलको शिलान्यास गर्दै नगर प्रमुख खाणले तिलोत्तमा नगरपालिकाको गौरवको आयोजनाका रुपमा अगाडि सारेको यो छिट्टै सम्पन्न हुने बताए । उनले यो नगरवासीको समग्र साथ र सहयोगमा परियोजना सम्पन्न हुन विश्वास व्यक्त गरे । तीन वर्षअघि नगरपालिकाले लगानी सम्मेलनमा गरेको प्रतिवद्धता अनुसार यो योजना अगाडि बढेको नगर प्रमुख खाणले बताए । ८ अर्ब लागतमा नगरभित्र ५० किलोमिटरको दूरीमा रेल सेवा सञ्चालन हुनेछ । जसमा लुम्बिनी प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र नागरिकबाट ४९ प्रतिशत लगानी रहने छ । तिलोत्तमा चक्रपथको ४३ फिट भित्री बाटोको छेउमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन गरिनेछ । १४ फिट ट्राम रेलको चौडाइले ओगट्ने छ । त्यसमा ५ फिटको ट्रयाक हुनेछ । १० फिट डिब्बाको चौडाइ हुनेछ भने त्यसमा दायाँ बायाँ दुई/तीन फिट छोडिनेछ । रेल्वेमा ५ सय ५० जना संस्थापक सदस्य रहेका छन् । यो विद्युतबाट चल्ने लाइट रेल्वे हो । एउटा रेलमा ५ वटा डिब्बा हुने छन् ।ट्राम रेल १२ वटा ट्राममध्ये ६ वटा पश्चिमबाट टाइगर प्यालेस हुँदै रिङरोड र ६ वटा पूर्वमा योगीकुटी रोहिणी जलासयतर्फ चल्ने छन् । परियोजना सुरु भएपछि एक सय जना स्थायी कर्मचारीले रोजगार पाउने छन् ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update