Shittalpati
लोक दोहोरी प्रतिष्ठान पाल्पाको साधारण सभा तथा अधिवेशन

पाल्पा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले २० औं सधारण सभा तथा ८ औं जिल्ला अधिवेशन गरेको छ । शाखाले तानसेनमा बुधबार एक औपचारिक कार्यक्रम गरी सभा तथा अधिवेशन गरेको हो । कार्यक्रमको प्रमुख अतिथि तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष बद्री पंगेनीले उद्घाटन गरेका हुन् ।

सभाको उद्घाटन गर्दै गायक पंगनीले गीत मार्फत नै आफु कार्यक्रममा ढिला आउनुको कारण बताएका थिए । उनले कार्यक्रमको निर्धारित समय भन्दा चार घण्टा ढिला आएकोमा गीतमार्फत आर्यभञ्जयाङको घुम्ती निर लेट भो... भन्दै दर्शक र आयोजनलाई जानकारी गराएका थिए । पाल्पाली गायक समेत रहेका पंगेनीले समाजमा लोकगीत र संगीतको प्रभाव बढ्दै गएको भन्दै यसलाई जोगाइ राख्न प्रतिष्ठानलाई चुनौती रहेको बताए । लोकसंगीतलाई आफ्नो पेशा बनाएर अघि बढिरहेका प्रतिभावान् कलाकारलाई हतोत्साहित हुन नदिन पनि प्रतिष्ठानले आफुलाई अब्बल बनाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय महासचिव सुवास केसीले नेपाली गीत संगितको संरक्षण र प्रवद्र्धनमा कलाकारहरु संगठित भएर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । उनले कलाकार एक्लैले गीत संगीतको संरक्षण गर्न नसक्ने भन्दै त्यसका लागि सबै एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष डिल्लीराम पाण्डेले केन्द्रीय निर्देशन अनुसार आफुहरु अहिले जिल्ला अधिवेशनको दौडानमा व्यस्त रहेको बताए । उनले प्रदेशका अधिकास जिल्लामा अधिवेशन भइसको र केही जिल्लाहरुमा विहिबार हुन लागेको बताए । अध्यक्ष पाण्डेले पाल्पा लोक संस्कृतिको उर्वरभूमि भएको भन्दै त्यसको सरंक्षणमा पाल्पाको प्रतिष्ठान लाग्नुपर्ने बताए ।

प्रतिष्ठान पाल्पाका संस्थापक अध्यक्ष नारायण खनाल लेकालीले संगठनलाई हुर्काउन जति गाह्रो छ त्यो भन्दा बढी संगठनलाई अगाडि बढाउन गाह्रो रहेको उल्लेख गरे । उनले पाल्पामा प्रतिष्ठान स्थापना गर्न आफुले भोगेका समस्याहरुका बारेमा उल्लेख गर्दै अब संगठनलाई बलियो र दीर्घकालीन बनाउन पाल्पाली कलाकारहरु एक ढिक्क हुनुपर्ने बताए । प्रतिष्ठान पाल्पाका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य अमृत अधिकारीले पाल्पाको गहना र सम्पति भनेकै प्रतिष्ठानबाट जन्मिएका राष्ट्रिय तथा ख्याति प्राप्त कलाकारहरु नै रहेको बताए । उनले पाल्पाबाट थुप्रै कलाकारहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै ख्याति कमाउन सफल भएको बताए । कार्यक्रममा प्रतिष्ठान पाल्पाका सल्लाहकार तथा तानसेन ६ का वडा अध्यक्ष सागरमान महर्जन, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तमकुमार बज्राचार्य, पाल्पा व्यापार संघका उपाध्यक्ष थानेश्वर गैरे लगायतले प्रतिष्ठानको सफलताको शुभकामना व्यक्त गरे । प्रतिष्ठानकी कोषाध्यक्ष अनु खनालले आर्थिक वर्षको आयव्यय प्रस्तुत गरेकी थिइन् । कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष रेखा विष्टको अध्यक्षता, प्रथम उपाध्यक्ष तिर्सना थापाको स्वागत, सचिव कमल भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update