Shittalpati
नाग पञ्चमीमा नाग टाँस्ने परम्परागत चलन हराउँदै

पाल्पा, श्रावण शुक्ल पञ्चमी बिहानै घरआँगन सफा गरिन्छ । स्नानपछि पूजा सामग्री जुटाइन्छ । दही, दुबो, अक्षता, फूल, चन्दन, धूप–दीप र नैवेद्य तयार हुन्छ । अनि घरको मूलढोकामाथि वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिऊन्, अग्नि, मेघ र चट्याङको भयबाट जोगिइयोस् भन्ने कामनासहित नागको चित्र टाँसिन्छ ।

पाल्पालगायत हिन्दू समुदायमा यसरी सोमबार नाग पञ्चमी मनाइँदै छ । नागलाई देवताका रूपमा पूजा गर्दै घरको ढोकामा नागको तस्बिर टाँस्ने यो परम्परा वैदिककालदेखि चलिआएको मानिन्छ । तर समयसँगै नाग पञ्चमी मनाउने शैली फेरिँदै गएको छ । परम्पराका कतिपय विधि हराउँदै छन्, पूजा सामग्री जुटाउनेदेखि नागको चित्र बनाउनेसम्मका पुराना अभ्यास आधुनिकताले विस्थापित गर्दै लगेको छ । पहिले ब्राह्मण–पुरोहितले आफ्नै हातले नागको चित्र बनाएर जजमानका घरमा पुग्थे ।  गोबर वा गहुँको पिठोबाट नागको आकृति बनाउने, त्यसमा विधिपूर्वक पूजा गर्ने र मूलढोकामा टाँस्ने चलन थियो । अहिले बजारमा पाइने छापिएका नागका चित्रले त्यो स्थान लिन थालेका छन् । व्यस्त जीवनशैलीका कारण पूजा पनि छोटो विधिमा सीमित हुन थालेको छ । “विधि विधानअनुसार पूजाआजा गर्न खोजे पनि पछिल्लो समय सहरी भेगमा शुद्ध गाईको दूध, गोबर तथा दुबोजस्ता सामग्री अभाव हुन थालेको छ,” पण्डित विष्णु आचार्य भन्छन्, “कति सामग्री जुटाउनै कठिन हुन थालेको छ ।

नाग टाँस्दा सिक्का पनि टाँस्ने चलन छ ।” परम्पराअनुसार नाग पञ्चमीका दिन बिहानै स्नान गरी दीप, कलश र गणेशको पूजा गरिन्छ । त्यसपछि गोबर वा गहुँको पिठोबाट बनाइएको अथवा कागजमा चित्रित नागलाई दही, दुबो, कुश, फूल, सिन्दुर, चन्दनलगायत सामग्रीले पूजा गरिन्छ । धूप, दीप र नैवेद्य अर्पण गरी प्रार्थना गरेपछि नागको चित्र घरको मूलढोकामाथि टाँसिन्छ । धार्मिक विश्वासअनुसार यसरी नागको पूजा गरी घरमा टाँस्दा वर्षभर नाग, सर्प र बिच्छीलगायत घिस्रने जीवबाट भय नहुने तथा अग्नि, मेघ र चट्याङको जोखिमबाट समेत रक्षा हुने विश्वास छ । नाग पञ्चमीका दिन घरको ढोकामा नाग टाँसेपछि खेतबारीमा खनजोत गर्न नहुने र नाग–सर्पलगायत घिस्रने जीवलाई मार्न नहुने मान्यता पनि छ । धर्मशास्त्रीय परम्पराअनुसार नागपञ्चमीमा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शड्ढ गरी आठ नागको पूजा गर्ने मान्यता  छ ।

नागको चित्रमा दही, दूध, दुबो, अक्षता, फूल, चन्दनलगायत सामग्री चढाएर पूजा गरेपछि घरको मूलढोकामाथि टाँस्ने परम्परा रहेको छ । नागपञ्चमीको परम्परा परिवर्तन हुँदै गए पनि यसको सांस्कृतिक महत्व भने कायमै छ । नागलाई प्रकृति, वर्षा र पानीसँग जोडेर हेर्ने धार्मिक मान्यता छ। साथै सर्पले खेतबारीमा मुसा तथा अन्य जीवको संख्या नियन्त्रण गर्न सहयोग गर्ने भएकाले यसको पर्यावरणीय महत्वसमेत रहेको विज्ञहरूले बताउँदै आएका छन् । यसरी हेर्दा नागपञ्चमीमा नागको चित्र टाँस्ने चलन केवल धार्मिक कर्मकाण्ड मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक अभ्यास पनि हो । छापिएका चित्रले परम्पराको बाहिरी स्वरूप जोगाए पनि हातैले नागको चित्र बनाउने पुरानो सीप र त्यससँग जोडिएको सामाजिक अभ्यास भने क्रमशः हराउँदै गएको देखिन्छ ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update