Shittalpati
रामपुरमा भू–उपयोग क्षेत्र वर्गीकरण

पाल्पा, जिल्लाको रामपुरमा भू–उपयोग क्षेत्र वर्गीकरण गरिएको छ । रामपुर नगर सरकारले नगर भित्रका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरेको हो । नगर सरकारको भू–उपयोग परिषद्को बैठकले नगर भित्रका जग्गाको आवास क्षेत्र, कृषि क्षेत्र, व्यवसायिक क्षेत्र, औद्योगिक क्षेत्र लगायतका क्षेत्र निर्धारण गरेको छ । बैठकले ६ मिटर चौडाई भएको बाटोको दाँया बाँया ५० मिटर, ८ मिटर बाटोको दाँया बाँया ७० मिटर, १० मिटर बाटोको दाँया बाँया ८० मिटर र १० मिटर भन्दा माथीका मापदण्ड भएका बाटोको दाँया बाँया १ सय मिटरसम्म आवासीय क्षेत्र निर्धारण गरेको छ । उसले अंशबण्डा गर्दा आवास थप्नु पर्ने भए आपसी समझदारीमा मापदण्ड अनुसार बाटो विस्तार गरी आवास बनाउन सकिने निर्णय गरेको छ ।

साथै प्रयोगमा आएको चर श्रेस्ता कायम नभएको बाटोको मापदण्ड कायम गरी बाटो सार्वजनिक गर्न सकिने भएको छ । यस्तै नगरपालिका अन्तर्गत समथर भू–भाग छोडी अन्य पहाडी क्षेत्रमा बाटोको ३० मिटर दाँया बाँया क्षेत्रलाई आवासीय क्षेत्र तोकेको छ । यसैगरी कालिगण्डकी करिडोर सडकबाट एक सय मिटर दाँया बाँयाको क्षेत्रलाई व्यवसायिक क्षेत्र तोकेको छ भने रामपुर नगरपालिका वडा नं. ७ किसानबारीदेखि तुरुन्दी खोला सम्मको मुलबाटोमा पर्ने विरेन्द्रटारको उत्तर तर्फको ९६ रोपनी जग्गालाई औद्योगिक क्षेत्र निर्धारण गरेको छ ।

यस्तै नगर भित्र रहेका खानी तथा खनिज क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र बाहेकका अन्य क्षेत्रलाई कृषि क्षेत्र निर्धारण गरेको छ । रामपुर नगरपालिकाका नगर प्रमुख तथा भू–उपयोग परिषदका अध्यक्ष रमणबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले भू–उपयोग वर्गीकरण सम्बन्धी कुनै फैसला अदालतबाट भएर आएमा सोही बमोजिम कार्यान्वयन गर्ने निर्णय गरेको छ । विभिन्न वडाबाट आएका प्रस्तावलाई छलफल गरी जग्गाको वर्गीकरण गरिएको हो । जग्गाको वर्गीकरण गरी नगरपालिकाले संघमा पेश गरेको छ । संघबाट स्वीकृत भई आएमा नगरभित्रका जग्गाको किट्टाकाट गरी विक्री गर्न सकिने छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update