Shittalpati
रामपुर नगर सरकारको पहल, लामो समयदेखि रोकिएको सडकको काम सुरु

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाको पहलमा विवादका कारण लामो समयदेखि रोकिएको सडक निर्माण कार्य सञ्चालनमा आएको छ । विवादका कारण निर्माण कार्य हुन नसकेको रामपुर ५ मटेरीमा नगर सरकारको पहिलपछि सडक निर्माण सुरु भएको हो ।

यो सडक राष्ट्रिय गौरवको योजनाको रुपमा रहेकोे कालिगण्डकी करिडोर सडक योजना अन्तर्गत पर्दछ । यहाँ सार्वजनिक जग्गा संरक्षण पक्ष र सो क्षेत्रमा घर जग्गा पर्ने पक्ष बिच सडक निर्माणका लागि लामो समय देखि विवाद रहेको थियो । झण्डै ३ बर्ष देखि विवादका कारण निर्माण हुन नसकेको सडक रामपुर नगरपालिकाको पहलमा सोमबारदेखि निर्माण गर्न सुरु गरिएको हो । नगर सरकारले विभिन्न योजना सञ्चालनका क्रममा भएका अवरोध हटाउने सुचना जारी गर्दै अवरोध हटाउने र योजना सञ्चालन गर्न सहयोग गर्ने जिम्मा लिएसंगै उक्त स्थानमा सडक निर्माणको काम शुरु भएको छ । विभिन्न योजना सञ्चालनका क्रममा अवरोध हुँदा नगरको विकासमा बाधा पुग्ने भएकाले योजना सञ्चालनका लागि नगरपालिकाले अवरोध हटाउने नगर प्रमुख रमणबहादुर थापाले बताए । सार्वजनिक जग्गा छुट्याई वडा ५ को मटेरीमा सडक निर्माण थालिएको उनले बताए । ‘नगरभित्र राष्ट्रिय गौरव, नगर गौरव र वडा गौरवका योजना सञ्चालन गर्दा कहीँ कतै अवरोध आए त्यो नगरपालिकाले हटाउँछ’– नगर प्रमुख थापाले भने ।

निर्माणाधिन सडकको स्थलगत अनुगमन गर्दै नगर प्रमुख थापाले कुनै डर संकोच विना निर्धक्कसँग तिव्र गतिमा काम सम्पन्न गर्न निर्देशन दिए । साथै योजना सञ्चालनमा बाधा पु¥याउने गरी सार्वजनिक स्थानमा निर्माण भएका अवैध संरचना समेत हटाउने उनले बताए । थापाले सबै योजना सञ्चालन गर्दा अवरोध हुने संरचना हटाएर सौहार्द वातावरण तयार गरी नगरको विकासमा सहयोग गर्न नगरवासीलाई आग्रह गरे । यस्तै रामपुर नगरपालिका वडा २ को भलायटारस्थित सडक पनि कालिगण्डकी करिडोर सडक योजनाको डिपिआर अनुसार नै निर्माण हुने उनले बताए ।

स्थानीयको अवरोधका कारण रोकिएको सडक निर्माणका लागि स्थानीय बिच आपसी समझदारीमा काम गर्ने भनिए पनि समझदारी हुन नसके पछि नगरपालिकाको सहयोगमा करिडोर सडक योजनाले डिपिआर अनुसार नै काम गर्न सुरु गरेको कालिगण्डकी करिडोर योजनाका ईन्जिनियर विष्णु भट्टराईले बताए । उनका अनुुसार गैडाँकोट–पिपलडाँडा सडक योजना अन्तर्गत सो क्षेत्रमा पर्ने ४ सय ५० मिटर सडक ११ मिटर चौडाई कालो पत्रे सहित निर्माण कार्य हुनेछ ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update