Shittalpati
तानसेन खानेपानी समितिको नवौं साधारण सभा

पाल्पा, तानसेन खानेपानी उपभोक्ता समितिले नवौं साधारण सभा मनाएको छ । समितिले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो  । सभाको जिल्ला समन्वय कार्यालय पाल्पाका प्रमुख टंकनाथ खनालले उद्घाटन गरे हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका खनालले खानेपानिको समस्याले पर्यटन विकासमा अवरोध हुने हुँदा विगतका त्रुटीहरुलाई सच्चयाउदै अब आउने नेतृत्वले ध्यान दिनुपर्ने बताए । उनले तानसेनका खेर गैरहेका स्रोतलाई समेत उचित परिचालन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । तानसेन नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको खानेपानी समस्या समाधान गर्न नगरपालिकाले जिम्मा लिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति झपेन्द्र गहिरे, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा समाजवादीका सचिव मोहनलाल गैरे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, उपभोक्ता समितिका पूर्व अध्यक्ष हरि रायमाझी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख अनुप उपाध्याय, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, उपभोक्ता समितिका सूर्यबहादुर बाहोरा लगायतले तानसेनमा खानेपानीको समस्या समधानमा समिति गम्भीर नबनेको बताए । उनीहरुले समिति निर्माणमा राजनीतिक मुक्त प्राविधिक विज्ञलाई स्थान दिनुपर्ने, खानेपानी शुल्क ब्यबहारिक बनाईनुपर्ने, खानेपानी वितरणको उचित समय निर्धारण हुनुपर्ने जस्ता सुझाव राखेका थिए ।

समितिका कार्यवाहक अध्यक्ष डा.पुरनमान बज्राचार्यले समितिको आगामी पुष महिना भित्र निर्वाचन बताए । उनले तानसेन कालिगाण्डकीको लिफ्टि· खानेपानीको पहिलो चरण सम्पन्न भएर दोस्रो चरणको काम सञ्चालन भइरहेको भन्दै योजना सम्पन्न भएपश्चात तानसेनको घर घरमा २४ घण्टा पानी आउने बताए । साधारण सभाका अवसरमा उपभोक्त समितिका सचिव केशव पौडेलले प्रतिवेदन पेश गर्दै तनसेनमा हाल ४ हजार १ सय ५७ धारा वितरण भएको बताए । समितिका कोषाध्यक्ष भीमसेन कार्कीले आर्थिक चालु आर्थिक वर्षको आय व्यय प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update