Shittalpati
अध्यादेश प्रकरण : प्रधानमन्त्रीको कदमविरुद्ध काँग्रेसका युवा

रामचन्द्र रायमाझी
पाल्पा, नेपालको राजनीतिमा आफ्नै सरकारको विरुद्धमा कमै नेताहरु उभिने गर्दछन् । राम्रो, नराम्रो काम गरे पनि सत्ता पक्षका दल र नेताहरु सरकारको बचाउमा लाग्ने गरेको देखिन्छ । जो सरकारले गलत गरेको अवस्थामा आफ्नै पार्टीका नेताहरु त्यसको विरुद्धमा विरलै उठ्ने गरेका घटना छन् । तर नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा भने नेपाली काँग्रेसका केही युवाहरु आफ्नै सरकारका विरुद्धमा उत्रिने गरेका छन् ।

पछिल्लो पुस्ताका रुपमा राजनीतिमा उदायका नेपाली काँग्रेसका केही युवाहरु अहिले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारका विरुद्ध उत्रिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो पटक ल्याएको फौजदारी संहिता संशोधनसम्बन्धी अध्यादेशका विरुद्ध काँग्रेसका महामन्त्रीहरु गंगन थापा, विश्वप्रकाश शर्मा र अर्को युवा नेता प्रदीप पौडेल उत्रिएका छन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले गरेको निर्णयको भारी आफूहरुले बोक्न नसक्ने भन्दै उनीहरु त्यसविरुद्ध उभिएका हुन् ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले भावी सत्ता समीकरणालाई सजिलो बनाउनका लागि विभिन्न राजनीतिक समूहमा आबद्ध भएर विभिन्न कसुरमा जेलमा रहेका कैदीबन्दीलाई रिहाई गर्नेसम्बन्धी व्यवस्था गर्ने निर्णय गरेको थियो । त्यसका लागि अध्यादेश ल्याउने निर्णय भएको हो । उक्त निर्णयको सर्वत्र विरोध भएपछि यी तिन युवाहरुले चर्को विरोध गरेका छन् । गगन थापाले सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न माग गरेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै पार्टीभित्र यसबारेमा कुनै छलफल र निर्णय नभएको भन्दै हिजोका दिनमा पार्टीको अडान यथावत् रहेको उल्लेख गरेका छन् । उनले यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबलेसमेत गलत भएको भन्दै सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने माग गरेका छन् । उनले लेखेका छन्, ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि छ । यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरित छ । सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ ।’ अर्को महामन्त्री विश्वप्रकाश शर्माले पनि ट्विटरमा यो निर्णयको विरोध गरेका छन् ।

‘सडकमा छँदा जे सत्य, संसदमापनि त्यही नै सत्य’ त्यसैले सार्वजनिक दर्ज होस् असहमति !’ संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनीभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रुपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्नपनि जोडिएको छ !’ प्रधानमन्त्री देउवालाई संकेत गर्दै शर्माले लेखेका छन् । अर्का नेता प्रदीप पौडेलले पनि अध्यादेश गलत भएको उल्लेख गरेका छन् । उनले भनेका छन् ‘अध्यादेश हिजो पनि गलत थियो आज पनि । पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने, फरकपनको आभास कसरी हुन्छ ?’ सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता गरिनुपर्ने तीनै युवाहरुको अडान छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update