Shittalpati
‘शैक्षिक गुणस्तरमा विद्यालयको भूमिका महत्वपूर्ण’

पाल्पा, रामपुर नगरपालिकाका नगर प्रमुुख रमणबहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तरमा सम्बन्धित विद्यालयको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नगरभित्रका विद्यालयका प्रधानाध्यापकहरुको बैंठकमा बोल्दै नगर प्रमुख थापाले यस्तो बताएका हुन् । उनले विद्यालयको शैक्षिक गुणस्तर कस्तो बनाउने भन्ने कुरा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा भर पर्ने बताए ।

नगर प्रमुख थापाले भने ‘विद्यालयको शैक्षिक गुणस्तरमा विद्यालयकै भूमिका महत्पूर्ण छ, यसमा प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले ध्यान दिनुपर्छ ।’ विद्यालयको विकास र गुणस्तर वृद्धिमा सबै विद्यालयहरु सक्रिय भएर लाग्न पनि उनले आग्रह गरे । साथै उनले शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयको आन्तरिक परीक्षा र विभिन्न कार्यक्रमको दायरा बढाउनु पर्ने समेत बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले नगर भित्रका हरेक विद्यालयको अनुगमन गर्ने बताउँदै विद्यालयको भौतिक र शैक्षिक अवस्था सुधारका लागि प्रअहरुलाई निर्देशन दिए । रामपुर नगरपालिकाको सभाहलमा भएको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले नगर भित्रका विद्यालयको अर्धबार्षिक परीक्षा यही पौष १३ गते देखि २२ गते सम्म सञ्चालन गर्ने, पौष २४ गतेदेखि माघ १० गतेसम्म जाडो विदा दिने लगाएतका निर्णय गरेको छ । यस्तै नगरभित्रका विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नका लागि नगर शिक्षा अधिकृत विकल काफ्लेको संयोजकत्वमा समिति गठन गरेको छ । नगरपालिका भित्रका विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरुको सहभागिता रहेको बैठक रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालको अध्यक्षता, नगर शिक्षा अधिकृत विकल काफ्लेको सहजीकरणमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update