Shittalpati
प्याब्सन पाल्पाले मनायो साधारण सभा

पाल्पा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पाले साधारण सभा मनाएको छ । प्याब्सनले सोमबार एक औपचारिक कार्यक्रमका बिच १५ औं साधारण सभा मनाएको हो । सभाको पाल्पा क्षेत्र नं. १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित खेमबहादुर सारुले उद्घाटन गरेका हुन् ।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका प्रदेश सभा सदस्य सारुले अब संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तर विकासमा आफुले ध्यान दिने बताए । उनले प्रदेश सरकारले बनाउने नीति तथा कार्यक्रममा संस्थागत विद्यालयहरुका विषयलाई पनि प्राथमिकताका साथ राख्ने बताए । उनले विकसित देशका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने खालको शैक्षिक जनशक्ति उत्पादन गर्ने दिशामा लाग्न पनि संस्थागत विद्यालयलाई आग्रह गरे । उनले राज्यले शिक्षा नीति बनाउँदा प्याब्सनको प्रतिनिधित्व गराउन नसकेको भन्दै अब आफुले प्रदेशबाट पहल गर्ने बताए । राज्यले शिक्षा प्रदान गर्ने संस्थाहरूका बीचमा विभेदकारी नीति ल्याउने गरेकाले अब आफुले त्यसको प्रदेशबाट अन्त्य गर्ने प्रदेश सभा सदस्य सारुले उद्घोष गरे ।

कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय सह–कोषाध्यक्ष मीनप्रसाद बंजाडे, प्याब्सन लुम्बिनी प्रदेशका उपाध्यक्ष गोविन्दप्रसाद पौड्याल, प्याब्सन पाल्पाका पूर्व अध्यक्ष सूर्यप्रसाद घिमिरे, प्याब्सन पाल्पाका प्रमुख सल्लाहकार भरत प्रसाद न्यौपाने, प्याब्सन तानसेन नगरका अध्यक्ष गंगाबहादुर खत्री, पाल्पा आवासिय माध्यमिक विद्यालयका अध्यक्ष केदारलाल श्रेष्ठ र विजु बोर्डिङ स्कुलकी प्रिन्सिपल अनुराधा बज्राचार्य लगायतले प्याब्सनको सफलताको शुभकानमा व्यक्त गरेका थिए । कार्यक्रममा प्याब्सनका पूर्व अध्यक्ष खेमबहादुर सारुलाई सम्मान समेत गरिएको छ । मंसिर ४ गते भएको प्रदेश सभा सदस्यमा निर्वाचित भएको भन्दै प्याब्सनले सारुलाई सम्मान गरेको हो ।

प्याब्सनका जिल्ला अध्यक्ष महेशमान बज्राचार्यको अध्यक्षता, उपाध्यक्ष डाँसुराम पन्तको स्वागत, सचिव अशेष भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्लाका ४० वटा संस्थागत विद्यालयका अध्यक्ष र प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update