Shittalpati
जापान र फ्रान्स निर्यात गुल्मेली कफी, कफी खेतीमा किसानको आकर्षण

रासस
रेसुङ्गा, गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफी खेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी संघमार्फत् निर्यात हुँदै आएको छ । संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ । कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बिउ स्रोत केन्द्रका रुपमा काम गरिरहेको बताए । कुल ६ हेक्टर क्षेत्रफलमा बिउका लागि कफी खेती गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुन थालेपछि कफीखेतीमा किसानको आकर्षण बढेको छ ।

बढ्यो आकर्षण
गुल्मीको रेसुा नगरपालिका–८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षे सरोज बेलबासे व्यावसायिक कफी खेतीमा छन् । आँपचौरको पिपलारुखमा दुई सय रोपनीमा डेढ वर्षदेखि कफी खेती गरिरहेका उनीहरुले बीस हजार कफीका बिरुवा रोपेका छन् । ‘विदेशमा पसिना बगाउनुभन्दा स्वेदशमै मिहेनत गरौँ भन्ने सोचले कफीखेती सुरु गरेका हौं’, बेलबासेले भने । मनोज र सरोजले गरेको कफी खेतीबाट हाल एक हजार बिरुवाले उत्पादन दिइरहेका छन् । मनोजका अनुसार गतवर्ष यसबाट सात लाख आम्दानी भएको थियो । कफी खेतीमा उनीहरुले हालसम्म ५१ लाख लगानी गरिसकेका छन् । उनीहरुले कफी खेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरण समेत आफै गर्दै आएका छन् । सिजनमा ३५ जना र अन्य समयमा दैनिक पाँच जनालाई उनीहरुले रोजगारी समेत दिएका छन् । उनीहरु मात्रै होइन आँपचौरका अधिकांश परिवार कफी मा होमिएका हुन् । केहीले व्यावसायिकरुपमा त केहीले घरखर्चका लागि मात्रै पनि कफी खेती गरेका छन् । आँपचौरका किसान कपिला खरेलको कपिला कृषि तथा पशुपंक्षी फर्म छ ।

व्यवसायिक रुपमा कफी खेतीसँगै केरा खेती र कुखुरापालन पनि गर्छिन् । उनले रोपेका दुई सय कफीका बोट उत्पादन दिने अवस्थामा छन् । उनले कफीखेती बिस्तारका लागि छहारी निर्माणमा लाग्गेको बताइन् । आँपचौरकै दुर्गा खरेलले पनि कफी खेतीलाई बगैँचाका रुपमा विस्तार गरेका छन् । उनले प्रत्येक वर्ष ४ क्विन्टलभन्दा बढी कफी बिक्री गर्दै आएका छन् । ‘कफी खेतीमा लगानी नडुब्ने भएकाले पनि युवाहरू आकर्षित भएका हुन्’, उनले भने । गुल्मीको आँपचौर कफीको उद्गमस्थल हो । मुसिकोट नगरपालिका–५ आँपचौरबाटै नेपालमा कफीको विस्तार भएको मानिन्छ । आँपचौरका स्थानीय हिरा गिरीले १९९५ सालमा कर्मथलो बर्माको सिन्धु प्रान्तबाट फर्किंदा कफीको बीउ लिएर रोपेपछि पहिलो पटक नेपालमा कफी खेतीको सुरुआत भएको हो । कफीको सुरुआत भएको झण्डै तीन दशकसम्म पनि बिरुवा अन्योलमै थियो । त्यसपछि नेपाल सरकारले भारतबाट कफीको बीउ ल्याएर वितरण गरेपछि आँपचौरमा कफीको व्यावसायिक खेती सुरु भएको स्थानीय दुर्गा खरेलको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update