Shittalpati
उपप्राध्यापक खनालको पुस्तकमा ‘वीपीको व्यक्ति, कृति र प्रवृत्ति’

पाल्पा, त्रिभुवन बहुुमुखी क्याम्पस पाल्पाकी उपप्राध्यापक शारदा खनालले नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको व्यक्ति, कृति र प्रवृत्ति समेटिएको पुस्तक निकालेकी छन् । उनले ‘आख्यानकार विश्वेश्वरप्रसाद कोइराला व्यक्ति, कृति, प्रवृत्ति’ नामक समालोचनात्मक कृति निकालेकी हुन् ।

अध्ययन र साहित्य सिर्जनामा सक्रिय खनालले कोइरालाको जीवनी, व्यक्तित्व, कृतित्वलाई पुस्तकमा समावेश गरेकी छन् । उनको पुस्तकमा कोइरालाको साहित्यिक र राजनीतिक पाटोलाई अत्यन्त सटिक रुपमा उल्लेख गरिएको छ । सञ्जीवनी अनुसन्धान केन्द्र तानसेनको प्रकाशनमा उक्त पुस्तक बजारमा आएको हो । १ सय ५६ पृष्ठ रहेको पुस्तक पठनिय रहेको छ । पुस्तकको गत वर्ष काठमाडौंमा एक औपचारिक कार्यक्रमका बिच विमोचन गरिएको थियो । यस पुस्तकमा कोइरालाका कथाकृति बारे दुुई वटा छोटा परिच्छेद मात्र राखिएका छन् । विगत २४ वर्षदेखि प्राध्यापन कार्यमा संलग्न रहेकी खनालले विपीको व्यक्तित्व र कृतित्वबाट प्रभावित भएकै कारण खोज, अनुसन्धान गरी पुस्तक निकालेको बताइन् । उनले भनिन् ‘कोइरालाको व्यक्तित्व, कृतित्व र आख्यानले मनमा गहिरो छाप पारेपछि पहिलेदेखि नै कलम चलाउने गर्थे र कोइराला सम्बन्धित मेरा थुपै्र लेखहरु पत्रपत्रिकाहरुमा प्रकाशन हुन थाले, त्यसैको फलस्वरुपम म पुस्तक निकाल्न सफल भएकी हुँ ।’ विपीको जीवनी, व्यक्तित्व र आख्यान कृतिबारे नेपाली साहित्यका विभिन्न विद्धान्हरुले थुप्रै अनुसन्धानमूलक कृतिहरु प्रकाशित गरेको अवस्थामा मेरो पुस्तकले ती भन्दा विशेष र नवीन ज्ञान दिन नसके पनि कोइरालाको कृति बारे सरल भाषामा सजिलो तरिकाले आधारभूत ज्ञान भने प्रदान गर्ने समालोचक खनालले विश्वास व्यक्त गरिन् ।

कोइरालाको उपन्यास र कथाको विश्लेषण गरेर लेखिएको खनालको पुस्तक कोइरालाका साहित्य र आख्यानका प्रवृत्तिबारे जान्न चाहने जिज्ञासु तथा विभिन्न तहका विद्यार्थीहरुका लागि उपयोगी सामग्री बन्ने प्रा.डा. ताराकान्त पाण्डेयले पुस्तकमा उल्लेख गरेका छन् । उनले कोइरालाका जीवनी र व्यक्तित्वका आलोकमा उनका कृतित्व र त्यसमा पाइने प्रवृत्तिको उल्लेख गरिएको सो पुस्तक कोइराला विषयक अध्ययन परम्परामा एउटा पाइलो र प्रयासको रुपमा अगाडि आएको बताएका छन् । पाण्डेयले खनालको पुस्तक शोधको सह–उत्पादन नभए पनि शोधकार्यमा रहेको संलग्नताले पुस्तकभित्रको सामग्री विश्लेषण र मूल्याङ्कनलाई बस्तुपरक बनाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । आख्यानकार विश्वेश्वरप्रसाद कोइराला ‘व्यक्ति, कृति, प्रवृत्ति’ कृति उपलब्धिमूलक र अनुसन्धानमूलक कृतिका रुपमा रहेको डा. शैलेन्दुप्रकाश नेपालले बताए । उनले पुस्तकमार्फत लेखक खनाललाई शुुभकामना दिदै कोइरालाको लेखनले सबैका लागि उत्प्रेरणा प्रदान गर्ने बताएका छन् । अर्घाखाँचीको सन्धिखर्क–५ वाङ्लामा जन्मिएकी खनालले नेपालीमा एमए गरेकी छन् भने बीएड र एलएलबी समेत गरेकी छन् । उनको यो पुस्तक पहिलो कृतिका रुपमा बजारमा आएको हो ।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update