Shittalpati
पाल्पामा शान्ति समाजले पनि मनाइयो ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

पाल्पा, देशभर ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । विभिन्न जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो । शनिबार पाल्पामा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । ‘सबैका लागि मर्यादा स्वतन्त्रता र न्याय’ भन्ने नाराका यो दिवस मनाइएको हो । जिल्लामा मानवअधिकार तथा शान्ति समाज पाल्पा शाखाले सचेतना र्‍यालीसहित प्रभातफेरी

कार्यक्रम आयोजना गरेको छ । ‘महिला अधिकारः माव अधिकार’ भन्ने नारा सहित समाजले सचेतना र्‍याली निकालेको थियो । तानसेनको टुँडिखेलबाट शुरू भएको र्‍याली,बसपार्क,पेट्रोल पम्प,हुलाक चोक, शित्तलपाटी, सिल्खानटोल, नारायण स्थान हुँदै पुनः टुँडिखेलमा पुगेर समापन गरिएको थियो । प्रभातफेरी कार्यक्रममा सहभागी भएका मानव अधिकारकर्मीहरुले मानव अधिकारको पूर्ण प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन् । उनीहरुले महिला हत्या, हिंसालगायतका घटना बढदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई तत्काल रोक्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले महिला माथिको हिंसा र भेदभाव अन्त्य गर,पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर भन्दै र्‍याली निकालेका थिए ।

कोण सभालाई सम्बोधन गर्दै मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर रावलले मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन सरकारलाई आग्रह गरे । उनले मानव अधिकार हनन्कर्तामाथि कडा कारवाही गर्न पनि सरकारलाई सचेत गराए । समाजले सशस्त्र द्वन्द्वकालका घटनामा पीडितलाई न्याय दिन सरकारलाई पटक–पटक सचेत गराउँदै आएको समेत बताए । राज्यले हरेक क्षेत्रमा महिलालाई विभेद गरेको भन्दै सबैलाई समान गर्नुपर्नेमा जोड दिए । उपाध्यक्ष रावलले स्वतन्त्रता, न्याय, शान्ति र समानता भए मात्र मानवअधिकार सुुनिश्चित हुने भएकाले त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरे । समाज पाल्पा शाखाकी अध्यक्ष रेणुका देबकोटले समानता, न्याय र मानव मर्यादाका लागि सबैलाई एकजुट हुन आह्वान गरिन् । उनले द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाइ नगर्न पनि सरकारलाई दवाव दिइन् । समाजका सचिव विष्णु बरालको सञ्चालनमा कोण सभा भएको थियो । र्‍यालीमा मानवअधिकारकर्मीसँगै विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update