Shittalpati
मानव अधिकार संगठन पाल्पाले आश्रममा पुुगेर मनायो मानव अधिकार दिवस

पाल्पा, नेपाल मानव अधिकार संगठन पाल्पा शाखाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएको छ । शनिबार ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन संगठनमा आवद्ध मानव अधिकाकर्मी र पत्रकार त्यहाँ पुगेका हुन् । आश्रममा रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिसँग बसेर संगठनले दिवस मनाएको हो । मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको संगठनले असहाय, बेसहारा, वृद्धहरुसँग माया र सद्भाव साट्ने उद्देश्यले आश्रममै पुगेर दिवस मनाइएको जनाएको छ । ‘सबैका लागि मर्यादा स्वतन्त्रता र न्याय’ भन्ने नाराका साथ उसले मानव अधिकार दिवस मनाएको हो ।

संगठनले त्यहाँ रहेका २५ जना असहाय, बेसहारा, वृद्धवृद्धाहरुलाई एक छाक भोजनका लागि चार हजार सहयोग समेत गरेको छ । उक्त सहयोग रकम संगठनका केन्द्रीय सदस्य त्रिलोचन पौडेलले आश्रमका संयोजक देव प्रसाद बज्राचार्यलाई हस्तान्तरण गरेका छन् । सहयोग रकम हस्तान्तरण गर्दै केन्द्रीय सदस्य पौडेलले श्रमिक, असहाय, अशक्त र वृद्धवृद्धाहरुको अधिकार दिलाउने पक्षमा सधै संगठन लागि परेको बताए । उनले भने ‘ जहिले पनि यि वर्गका व्यक्तिहरु मानवअधिकारकर्मीको प्राथमिकतामा पर्ने भएकाले पनि हामीहरु उहाँहरुसँगै बसेर दिवस मनाएका हौं ।’ आगामी दिनमा पनि रचनात्मक कार्यक्रमहरु गर्दै जाने उनले बताए । मानवअधिकारकर्मीसँगै आश्रममा पुगेका नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले मानवअधिकारकर्मीले असहाय, बेसहारा, वृद्धवृद्धाप्रति देखाएको सद्भाव प्रशसनिय रहेको बताए । उनले आवाजविहीनहरुको अधिकारको प्रत्याभूति दिलाउन सहयोग गर्दैै आएका मानवअधिकारकर्मीहरु आश्रममै पुगेर कार्यक्रम आयोजना गर्नु आफैमा अनुकरणीय कार्य रहेको धारणा व्यक्त गरे । निलसागर आश्रमका संयोजक देव प्रसाद बज्राचार्यले मानवअधिकारकर्मीहरुले आश्रममा रहेका नागरिकहरु प्रति देखाएको माया र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिए । उनले सहयोगी दाताहरुको सहयोगमा आश्रम सञ्चालन गर्दै आएको बताए । संगठनका सह–सचिव सोवाकान्त न्यौपानेले बाँच्न पाउने मानिसको नैसर्गिक अधिकार रहेको भन्दै त्यसका लागि असहाय, अशक्तहरुको खानाको प्रत्याभूति गर्ने कार्यमा संगठनले थोरै भए पनि सहयोग गरेको बताए । उनले यस पटक दिवसमा औपचारिक कार्यक्रमलाई भन्दा पनि अशक्त र जेष्ठ नागरिकलाई प्राथमितामा राखिएको एनजेडीलाई जानकारी दिए । सोही अवसरमा मानवअधिकारकर्मीहरु बेदराम श्रीस, विश्वराज रेग्मीको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update