
पाल्पा,जिल्लाबाट कोरोना आंशकामा थप एक जनाको स्वाब परीक्षणका लागि पठाइएको छ । आइतबार लुम्विनी मेडिकल कलेजमा उपचारत एक वृद्धा महिलाको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएको हो । ज्वरो र रुघाखोकी लागेर उपचारमा रहेकी तिनाउ गाउँपालिकाकी ६५ वर्षिया वृद्धको कोरोना संक्रमण पत्ता लगाउन स्वाब परीक्षणका लागि पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस अघि पाल्पा अस्पतालबाट एक जना र लुम्बिनी मेडिकल कलेजबाट २ जना गरी जिल्लाबाट तीन जनाको स्वाब (घाँटीको खकार) परीक्षणलाई नमुना संकलन गरी परीक्षणलाई पठाएको थियो । यो सँगै स्वाब परीक्षणका लागि जिल्लाबाट पठाइएको संख्या चार पुगेको छ । शनिबार पाल्पा अस्पतालबाट बगनासकाली गाउँपालिका २ पोखराथोक एक व्यक्ति र लुम्बिनी मेडिकल कलेजबाट माथागढी गाउँपालिका ४ झडेवाका २ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो । यस अघि पठाइएका तीन जनाको रिपोर्ट अझै आएको छैन । परीक्षणपछि मात्र कोरोना संक्रमित भएको वा नभएको जानकारी हुने छ ।उच्च ज्वरो र रुघाखोकीका बिरामीको कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखापरेकाले उनीहरुको स्वाब परीक्षणलाई पठाएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा.पुष्प ज्ञवालीले बताए ।