Shittalpati
खाद्य स्वच्छता : सचेतना र निगरानीमा जोड

पाल्पा, बजारमा अखाद्य र गुणस्तरहिन वस्तुहरु विक्री वितरण भइरहेका छ । सम्बन्धित निकायले निगरानी र चासो नदिदा बजारमा अखाद्यवस्तुको खुलेआम विक्री वितरण भइरहको हो । जहाँ तही गुणस्तरहिन र अखाद्य वस्तु विक्री हुन थालेपछि पाल्पाको बगनासकाली गाउँपालिकाका उपभोक्ताहरुले खाद्य स्वच्छता कायम गर्न सचेतना र निगरानी बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

यहाँ आयोजित खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी स्थानीय तहसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्ने अधिकास वक्ताहरुले खाद्य स्वच्छता कायम गर्न उपभोक्तास्तरमा सचेतना र बजारमा निगरानी बढाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले उपभोक्ता अधिकारका लागि जनस्तरसम्म सचेतना नबढाउँदा सम्म खाद्य स्वच्छता तथा गुणस्तरकायम गर्न नसकिने भएकाले स्थानीय तहले नियमित बजार अनुगमन गरी छड्के निगरानी गर्नुपर्ने बताए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले बजार अनुगमन नियमित गर्दा उपभोक्ता सचेत हुनुका साथै खाद्य स्वच्छता अभिवृद्धिमा उपभोक्ता सचेत हुने भएकाले अनुगमन र निगरानीलाई नियमित गर्न सुझाव दिए । उनले खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी आम उपभाक्ता बुझाउन सकिएको खण्डमा खाद्य स्वच्छता कायम गर्न सकिने र उपभोक्त गणस्तर, स्वच्छ खाने कुरा उपभोक्त गर्न सक्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले आम उपभोक्तालाई आफ्नो अधिकारका लागि जागरुक बनाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न सकेमा अनुगमन प्रभावकारी र दिगो हुने धारणा व्यक्त गरे । स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जनताको जीवनसँग सरोकार राख्ने भएकाले खाद्य स्वच्छताको गुणस्तर कायम राख्न निगरानी र बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमका अन्य सहभागीले अनुगमन चाडपर्व लक्षित जस्तो नबनाई उपभोक्ताको गुनासोका आधारमा आवश्यकता अनुसार व्यवस्थापन गर्ने र विद्यालय तथा समुदायस्तरमा खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नरेश श्रेष्ठले सुरक्षित खानाको सन्देश चार्ट, खाद्य लेवल, खाद्य वस्तुको जानकारी, लेवुलमा प्रयोग हुने भाषा, खाद्य स्वच्छता कायम गर्न स्थानीय तहको भूमिका, बजार अनुगमन लगायतका विषयमा जानकारी गराएका थिए । बगनासकाली गाउँपालिकाका नर्सिङ्ग कर्मचारी, जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख लगायतको सहभागितामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले कार्यक्रम आयोजना गरेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update