Shittalpati
पाल्पा साहित्य समाजद्वारा प्रतिभा सम्मानसँगै कृति लोकार्पण

पाल्पा, जिल्लाको साहित्य क्षेत्रमा क्रियाशिल हुँदै आएको पाल्पा साहित्य समाजले प्रतिभा सम्मानसँगै कृति लोकार्पण गरेको छ । समाजले शनिबार स्थापनाको २८ औँ वार्षिक दिवस, १७३ औँ छविलाल नेपाल जन्मजयन्ती तथा १२० औँ माधवप्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा प्रतिभा सम्मानसँगै कृति लोकार्पण गरेको हो ।

विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ६ जना प्रतिभाहरुलाई सम्माजले सम्मान गरेको छ । उसले छविलाल नेपाल प्रतिभा पुरस्कारबाट साहित्यकार मदन देउराली, भैरव तुलसी सिंह स्मृति पुरस्कारबाट साहित्यकार महेश्वरप्रसाद श्रेष्ठ, अथक प्रतिभा पुरस्कारबाट रामचन्द्रमान सिंह, इन्द्रराधा भारती समाजसेवा समाज सम्मान पुरस्कारबाट सामाजिक व्यक्तित्व मीना पन्थीलाई समान गरेको हो । यस्तै समाजले प्रकाशित गर्ने साहित्यक पुस्तक प्रकाशनमा सहयोग पुर्‍याएका दुई जनालाई पनि सम्मान गरेको छ । समाजले कृति प्रकाशनमा टाइपिङ्गमा सहयोग गर्ने नवजनचेतना राष्ट्रिय दैनिकका भाषा सम्पादक शर्मिला थापा मगर र चन्द्रा रानालाई कदर पत्रले सम्मान गरेको हो ।

सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा जेष्ठ नागरिक भेमप्रसाद भट्टराई, समाजका अध्यक्ष पुस्करराज रेग्मी, समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले सम्मान, कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरे । यस्तै सोही अवसरमा समाजका अध्यक्ष रेग्मीद्वारा लिखित ऐतिहासिक प्रबन्ध संग्रह ‘अनुस्मृति’ कृतिको लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि भेमप्रसाद भट्टराईले आफू छविलाल नेपालको छोरीपट्टिको नाति रहेको सन्दर्भ उल्लेख गर्दै जिल्लाको साहित्य क्षेत्रमा पाल्पा साहित्य समाजले गरेको काम प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा साहित्यकार तथा प्राडा हिरण्यलाल ज्ञवाली, साहित्यकार रामप्रसाद अर्याल, समाजका संरक्षक राजेन्द्रगोपाल सिंह, सम्मानित व्यक्तित्वहरु महेश्वरप्रसाद श्रेष्ठ, मदन देउराली, रामचन्द्रमान सिंह, मिना पन्थी लगायतले नेपाली साहित्य क्षेत्रको श्रीवृद्धिमा समाजले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको उल्लेख । साहित्यकार तथा प्राध्यापक कमल खत्रीले सम्मानित व्यक्तित्वको चर्चा र ‘अनुस्मृति’ कृतिको समीक्षा गरेका थिए । समाजका अध्यक्ष रेग्मीको अध्यक्षता, संस्थाका सल्लाहकार चित्रवलीराम सुवालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update